राजनीति

कर्णालीमा एमालेको ‘फ्लोर क्रस’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

नवराज पनेरु |
बैशाख ५, २०७८ आइतबार १३:४३ बजे

धनगढी : नेकपा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई जोगाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राहत महसुस गरेका छन् । सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्टको पद धरापमा पर्ने देखिएकोमा कर्णालीमा भएको ‘फ्लोर क्रस’ जस्तै सुदूरपश्चिममा पनि एमालेले साथ दिने संकेत देखाएपछि प्रदेश सरकार जोगिनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका हुन् । 

आइतवार धनगढीमा आयोजित पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भए जस्तो सुदूरपश्चिम सरकार संकटमा छैन् । यहाँ सरकार फेरवदलका विषयमा छलफल पनि भएको छैन् । प्रदेश सरकार तत्काल परिवर्तन हुँदैन् ।’ 


उनले केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै प्रदेश सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए । पूर्वमाओवादी र अहिलेका एमाले नेता लेखराज भट्टप्रति इंकित गर्दै उनले भने, ‘विगतमा हाम्री पार्टीमा रहेका र हामीले नै नेता ठानेका केही व्यक्तिहरु प्रदेश सरकार फेर्न हात धोएर लागिरहेका छन् ।’

एमालेमा माधव नेपाल पक्षका नेता भीम रावलले पनि सुदूरपश्चिम सरकार तत्काल फेरवदल नहुने संकेत देखाएका छन् । शनिवार धनगढीमा भएको कार्यक्रममा नेता रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै भने, ‘पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरिएको हो ।’ 

उनले आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चाल्न सकिने बताए । रावलको उक्त अभिव्यक्तिले सुदूरपश्चिममा ओली समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे माओवादी नेतृत्वको सरकार जोगाउन नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्ने संकेत गरेको छ । 

शुक्रवार भएको नेकपा एमालेको संसदीय दलको बैठकमा ओली पक्षका सांसदहरु अनुपस्थित हुनु र एकलौटी ढंगले संसदीय दलको विधान सर्वसम्मत पारित गर्नुले पनि सुदूरपश्चिम प्रदेशमा ओली समूहका हरेक रणनीतिलाई असफल बनाउन नेपाल समूह सक्रिय भएको देखिन्छ । 

नेकपा एमालेभित्रको समूहगत विवादले एमालेबाहेक अन्य पार्टीलाई भने फाइदा पुग्ने देखिन्छ । एमाले सुदूरपश्चिममा एक भए नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर नयाँ सरकार बनाउने सम्भावना पनि छ । 
 


Author

थप समाचार
x