राजनीति

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

जसपाका मन्त्रीले फ्याँकिदिए पार्टीको स्पष्टीकरण पत्र

विक्रम खड्का |
बैशाख ७, २०७८ मंगलबार १९:१३ बजे

बुटवल  : पार्टी निर्णय उल्लंघन गर्दै मन्त्री बनेका जनता समाजवादी पार्टीका चार संसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताकाक्रममा सोमबार हस्ताक्षर गरेका सन्तोष पाण्डे, सुमन रायमाझी, विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिएका छन् । उनले पार्टीको ह्विप उल्लङघन भएको बताएका छन् ।


‘सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’ स्पष्टीकरण पत्रमा सोधिएको छ ।

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले जानकारी दिए। उनले कर्मचारीले चारैजनालाई पत्र बुझाएको पनि बताए । तर, संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएका थिए । 

स्पष्टीकरण सोधिएका मन्त्री सन्तोष पाण्डेयले भने संसदीय दलको नेता आफू भएको बताए । उनले बहुमतले निर्णय गरेर आफूलाई दलको नेता चयन गरेको दाबी गर्दै अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने बताए ।

यसअघि पार्टी प्रदेश समितिका अध्यक्ष अशोक यादवले पनि चारै जनालाई स्पष्टीकरण नआउँदासम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत जनाएका थिए ।

यसैबीच जसपा रुपन्देहीले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ ।

पार्टी अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन अपील गरेका हुन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x