राजनीति

मधेसमा फेरियो राजनीतिक दृश्य, कसको बन्ला सरकार ?

कमल विष्ट |
मंसिर २४, २०७९ शनिबार १५:७ बजे

काठमाडौं– मधेस प्रदेशमा कुनै एक दलले बहुमत प्राप्त गर्न नसकेपछि अब कसको सरकार बन्छ भन्ने चर्चा दिन प्रतिदिन चुलिँदै गएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टी गठबन्धनसहित निर्वाचनमा गए पनि कसैले बहुमत ल्याउन सकेनन् । जसका कारण मधेसमा कसको सरकार बन्ला भन्नेमा अन्योल देखिएको हो । यद्यपि दुवै दल आ–आफ्नो नेतृत्वमा सरकार बनाउने दौडमा छन् । 


मधेश प्रदेशसभा १०७ सदस्यीयको छ । जसमध्ये ६४ सांसद प्रत्यक्ष र ४३ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ । 

सरकार बनाउन दुवै गठबन्धनको दौडधूप 

वाम–लोकतान्त्रिक गठबन्धनको प्रमुख घटक कांग्रेस यसपालि आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ । तर, कांग्रेसलाई सरकार गठन गर्न सजिलो छैन । मधेस प्रदेशको नेतृत्व गर्न कम्तीमा ५४ सदस्य आवश्यक पर्नेमा सत्ता गठबन्धनसँग ४६ सदस्य मात्रै छ । यद्यपि कांग्रेसले आवश्यक संख्या पुर्याउन उसले जनमत पार्टीको साथका लागि छलफल सुरु गरिसकेको छ । जनमतको समर्थन पाएको खण्डमा वाम–लोकतान्त्रिक गठबन्धनसँग ५९ सिट हुनेछ । 

प्रारम्भिक संकेतहरू हेर्दा जनमतले कांग्रेसलाई साथ दिने देखिन्छ । यद्यपि उसले साथ दिने नदिने भन्ने निश्चित गरिसकेको छैन । 

उता, एमाले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहन्छ । त्यसका लागि एमाले जनमत, स्वतन्त्र सांसद् र साना दलको समर्थन जुटाउने गृहकार्यमा जुटसकेको छ । एमाले गठबन्धनसँग ४० संख्या छ । जसमा एमालेको २३, जसपाको १६ र राप्रपाको १ सिट हो । एमालेलाई जनमत पार्टीसहित अन्य साना दलको समर्थनबिना सरकार बनाउन असम्भव जस्तै छ । कांग्रेसलाई भन्दा एमालेलाई सरकार गठन गर्न अझ कठिन देखिन्छ । उसलाई जसपाले पनि साथ दिने नदिनेमा अझै टुंगो लागि सकेको छैन ।

फेरियो राजनीतिक परिदृश्य 

२०७४ को प्रदेशसभा निर्वाचनमा तेस्रो स्थानमा रहेको एमालेले यसपालि शानदार ‘कम–ब्याक’ गरेको छ । त्यतिबेला एमाले २१ सिटसहित तेस्रो भएको थियो । यो निर्वाचनमा भने पहिलो दल भएको छ । एमाले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी जम्मा २३ सिट ल्याउँदै मधेसमा पहिलो दल बनेको हो ।

कांग्रेसले पनि यसपालि दमदार ‘कम–ब्याक’ गरेको छ । गत निर्वाचनमा १९ सिट पाएर चौथोमा खुम्चिएको कांग्रेस दोस्रो भएको छ । उसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी कूल २२ सिट जितेको छ । 

त्यस्तै, यसअघि मधेसमा पहिलो बनेको जनता समाजवादी पार्टी (जसपा) तेस्रो स्थानमा पुगेको छ । त्यतिबेला जसपाले २९ सिट ल्याएको थियो । यसपालि प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट ल्याएको छ । 

पहिलो पटक निर्वाचन लडेको सिके राउत नेतृत्वको जनमत पार्टी चौंथो भएको छ । उसले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ सिट गरी कूल १३ सिट पाएको छ । 
यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँचौ दल बनेको छ । उसले ९ सिट मात्रै पाएको छ ।

गत निर्वाचनमा पाँचौ स्थानमा रहेको माओवादी केन्द्र यसपालि छैटौँ दल बन्न पुगेको छ । अघिल्लो निर्वाचनमा ११ सिट जितेको माओवादीले ८ सिट जितेको छ । माओवादी केन्द्र छैटौँ बन्दा नेकपा एकीकृत समाजवादी ७ सिटसहित सातौँ दल बनेको छ ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा १ स्वतन्त्र सांसद निर्वाचित भएकोमा यसपालि ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् । यस्तै, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाले समान एक–एक सिट जितेका छन् । यो नतिजाले मधेसमा राजनीतिक दृश्य फेरिएको प्रष्ट प्रतीत हुन्छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x