राजनीति

सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

इकागज |
बैशाख ५, २०८० मंगलबार १६:२७ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन् ।

गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताए । उनले सुरक्षा निकायमा हुने विचौलियाको भूमिकालाई शून्यमा झारिने उल्लेख गरे ।


गृहमन्त्रीले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउने गरी काम गरिरहेको बताए । उनले सुरक्षा निकायमा काम गर्नेहरूको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाबरहित प्रणाली स्थापित गर्नुपर्ने जिकिर गरे । निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने उनकाे भनाइ छ । 

मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरूले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटोभन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे । उनले संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएर मात्रै नागरिकता उपलब्ध गराउने कुरा उल्लेख गरेकाले ऐन निर्माणका प्रक्रिया सुरु भइसकेको र छिट्टै वास्तविक नागरिकले नागरिकता पाउने बताए ।

मन्त्री श्रेष्ठले आम जनताले निर्वाध रूपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको बताए । उनले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानुनको कठघरामा ल्याइ दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिबद्धता जनाए । लागू पदार्थ दुर्व्यसनीको मात्रा बढेको र दलितमाथिको उत्पीडनका घटनाहरू बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा लाग्ने पनि बताए । 


Author

थप समाचार
x