राजनीति

'त्यो भाषण त नक्कली राष्ट्रवाद रहेछ’

पहिले ओली भन्थे: ‘नागरिकता बोर्डरमा बसेर बाँड्ने चकलेट होइन’

भैरहवाबासी भन्छन् : ‘अब ओली आफैँ सीमामा बसेर चकलेट झैँ नागरिकता बाँड्ने भएछन्’

बिक्रम खड्का |
जेठ १०, २०७८ सोमबार १६:५७ बजे

बुटवल : २९ फागुन, २०७३ । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान चलेको थियो । अनि रुपन्देहीको भैरहवामा विशाल आमसभा चल्यो ।

‘संविधानको रक्षार्थ’ निम्ति ‘राष्ट्रवादी सभा’ भनिएको थियो । जहाँ त्यो भेगका नागरिकहरूको ठूलो सहभागिता थियो । झापाबाट फागुन २१ मा सुरु भएको अभियान  भैरहवामा २९ गते आइपुग्दा उपस्थिति थेगिनसक्नुकै थियो । १५ दिने उक्त अभियान झापाको काकडभिट्टाबाट सुरु भई कञ्चनपुर हुँदै चैत ५ मा सुर्खेतमा सकिएको थियो ।


भैरहवा सभामा तत्कालीन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भाषण सुनेका त्यतिबेला लुम्बिनी अञ्चलका एमाले शुभेच्छुक मात्रै होइन मञ्चमा आसिन त्यतिबेलाका नेताहरू यतिबेला बडो अप्ठयारोमा परेका छन् । ओलीको त्यो भाषण र हिजो जारी भएको नागरिकता सम्बन्धी अध्यादेशले लुम्बिनीका एमाले नेताहरू यतिबेला नाजवाफ भएका छन् । एमालेले मेची–महाकाली अभियान चलाइरहँदा  मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, नागरिकता जन्मसिद्धको आधारमा पाउनुपर्ने लगायतका मागसहित तराईमा आन्दोलन चर्काइरहेको थियो ।

त्यही मेची–महाकाली अभियानका क्रममा सप्तरीमा ठूलो झडप समेत भएको थियो । उक्त झडपमा परी पाँच जनाको ज्यान समेत गयो । सप्तरीको मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा फागुन २३ मा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको हो । मृतकका परिवारलाई तत्कालीन सरकारले १० लाख रकम राहत स्वरुप दिएको थियो ।

त्यतिबेला मधेसी जनताले संविधान संशोधन र नागरिकता विधेयक संशोधनको माग गर्दा एमाले पंक्ति यति उग्र रुपमा प्रस्तुत भएको थियो कि सप्तरीमा अनाहकमा ५ जनाको ज्यान गुमाउनुपर्‍यो । ओलीले भैरहवाको आमसभामा भनेका थिए, ‘नेकपा एमालेले संशोधन  प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैन । संविधान संशोधनको यो प्रस्तावले पहाड–तराइलाई अलग गराउँछ । यसले नेपालको भौगोलिक अखण्डता कमजोर बनाउँछ । यसैले यो कुनै पनि हालतमा सफल हुन दिदैंनौं ।’

अनि उनका भनाइ थिए, ‘नागरिकताको सवाल, नागरिकता नेपालीले पाउनुपर्छ । उहिले उहिले रानिको जन्म दिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो, नागरिकता चकलेट होइन बोर्डरमा बसेर आउने जतिलाई दिदैं जाने ।’ ओलीको भाषणबाट तालीको पर्रा छुट्यो । ओलीले थपे, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन । हामी आउने बित्तिकै दिन्छौं । मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको के मा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ ।’

ओलीले ‘नेपालमा जस्तो नागरिकता प्राप्ति सहज ढंगले वितरण गरेको अन्य देशमा नभएको’ धारणा राखेका थिए । उनले भने, ‘तर नेपालमा चाहिँ हामीले आइपुग्ने बित्तिकै आउनेलाई नागरिकता त दिएका छौँ, तर आउँदा बित्तिकै सांसद, मन्त्री बनाउन सक्दैनौं ।’

उनले नागरिकता जथाभावी बाड्दा सिद्धार्थनगर भैरहवा जस्ता सीमावर्ती गाउँ सहरमा भोलि नेता पनि सीमापारीकै र मतादाता पनि उतैको हुने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए । उनले भने, ‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ, हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ । अनि त्यो केटालाई सांसद उठाइन्छ । पारिकै मान्छेहरू आएर मतदान गर्छन् । अनि त्यो सांसद हुन्छ, त्यो मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन ? हामी यो किमार्थ हुन दिँदैनौं ।'

यसरी नागरिकता सवालमा यति उग्र ओली करिब पाँच वर्षपछि ‘सत्ता वार्गेनिङ’को औजारमा परिणत गरी ‘द्वैध चरित्र’ गरेका छन् । संसदमा विचाराधीन नागरिकता विधेयक  अलपत्र पार्दै अध्यादेश जारी गरेका छन् । उनैका भैरहवाका कार्यकर्ताहरू भन्छन्, ‘हिजोका ओली र आजका ओलीमा आकाश–जमिन फरक भएको छ ।’

त्यतिवेला भैरहवा कार्यक्रमका युवा जनपरिचालन समितिका संयोजक एमालेका युवा नेता राजु गुरुङ प्रधानमन्त्री केपी ओलीको त्यतिवेलाको ‘राष्ट्रवाद’ यतिखेरको नागरिकता अध्यादेशसम्म आइपुग्दा ‘नक्कली राष्ट्रवाद’ भएको पुष्टि भएको बताउछन् । उनले भने,  ‘ओलीको त्यो भाषणले हामी निकै उत्साहित भएका थियौं । तर हामी भ्रममा रहेछौं । ओलीको त्यो भाषण त नक्कली राष्ट्रवाद रहेछ ।’ उनले थप्छन्, ‘त्यतिबेलाको भाषण त हात्तीको देखाउने दंत जस्तै रहेछ, एउटा देखाउने र अर्कैले चपाउने ।’

उनी सत्तामा टिकिरहन राष्ट्रलाई घात गर्न नहुने बताउँछन् । भन्छन्, ‘सत्ता  आउने/जाने भइरहन्छ, तर राष्ट्र र जनतामाथि गरिएको गद्दारी क्षमालायक हुँदैन ।’
राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम नागरिकता अध्यादेश कुर्सी जोगाउने अस्त्रका रुपमा आएको बताउँछन् । उनी भन्छन्, ‘देशका नागरिकहरुलाई नागरिकता दिने कुरा कानुनभित्र रहेर दिनुपर्छ । तर गैरनागरिकहरूलाई नागरिकता दिन खोजेर ओलीले देशमाथि गद्दारी गरेका छन् ।’

नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य श्रीराम यादव पार्टी अध्यक्ष केपी ओलीले आफ्नो स्वार्थपूर्तिका लागि जनघाती काम गरेको धारणा व्यक्त गरे । उनले ३ वर्षसम्म सरकार चलाउँदा संसदबाटै यो विधेयक पारित नगरी आफ्नो स्वार्थका लागि अध्यादेशवाट जारी आफ्नो चरित्र प्रर्दशन गरेको बताए । उनले थपे, ‘म त भन्छु, अब केपी कमरेडले अंगीकृतलाई सिँधै राष्ट्रपति बनाउने वाटो पनि खोली दिन्छन् ।’ 

यतिखेर रुपन्देहीमा ओलीको त्यो पुरानो भाषण ‘भाइरल’ छ । ओलीको भाषण र फट्याइँ व्यवहार खुबै दाजिँदैछ । ‘हिजो बोर्डरमा बसेर चकलेट झै बाढ्न सकिन्न’ भन्ने ओली सत्तासँगै बदलिएकोमा नागरिक अगुवा पदमबहादुर कार्की आश्चर्यचकित छन् । कार्की भन्छन्, ‘अब ओली आफैँ सीमामा बसेर चकलेट झैँ नागरिकता बाँढ्ने भएछन् ।’ 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x