राजनीति

भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन राष्ट्रिय जनमोर्चाको माग

इकागज |
कात्तिक १९, २०८० आइतबार १०:४४ बजे

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीले भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । जनमोर्चाले एक वक्तव्य जारी गर्दै शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको तीव्र उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग अपील गरेको हो । 

‘घाइतेहरूको तीव्र उद्धार, उनीहरूको उपचारमा ध्यान दिन तथा भूकम्प पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछौँ,’ पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘त्यसका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । प्राकृतिक विपतको पूर्वअनुमान गर्न नसक्दा पटक–पटक धनजनको क्षति हुने गरेको छ । त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’


शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् । 


Author

थप समाचार
x