राजनीति

नेपालमा लगानीका लागि धेरै सम्भावना छन् : मन्त्री चौधरी

इकागज |
बैशाख १६, २०८१ आइतबार १७:१० बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छन् । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गरिन् ।

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको बताइन् । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गरिन् । 


उनले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिइन् । 'नेपालमा लगानी बढाउनका लागि लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्छ, सरकारले पनि कानुनमा देखिएका समस्यालाई अध्यादेशमार्फत सम्बोधन गरेको छ,' मन्त्री चौधरीले भनिन्, 'खासगरी जग्गाको हदबन्दी र नदी कोरिडोर र वातावरणीय विषय सम्बोधन गरिएको छ ।'

लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताइन् । 'नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावना छन्,' उनले भनिन्, 'खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्तालाई म लगानीका लागि आह्वान गर्न चाहन्छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ता सबैका लागि यहाँ ठाउँ पनि छ, सम्भावना पनि छ ।'


Author

थप समाचार
x