राजनीति

प्रदेश-२ लोकसेवाले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

इकागज |
असोज १८, २०७८ सोमबार १९:२६ बजे

जनकपुर - प्रदेश-२ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । सोमबार आयोग अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्र समक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको हो । 

आयोगले बुझाएको प्रतिवेदनमा गत वर्ष बढुवा, अन्तर सेवा, तथा खुल्ला र समावेशी गरी कुल १ सय ६५ वटा विज्ञापनहरूबाट २ सय ७२ पदको लागि विज्ञापन प्रकाशित गरेको जनाइएको छ । बढुवातर्फ १ सय १३ पद, अन्तर सेवातर्फ १४, खुल्लातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदको लागि विज्ञापन गरेको आयोगले जनाएको छ ।


आयोगले कर्मचारी अभाव भए पनि गत वर्ष विभिन्न सेवा र विभिन्न तहका पदका लागि ८५ वटा पाठ्यक्रमहरू निर्माण गरेर कार्य अघि बढाएको आयोगका अध्यक्ष यादवले बताए । उनले भने आयोगमा २१ जनाको अस्थायी दरबन्दी रहेकोमा हाल काजमा ६ र करारका ५ जना गरी मात्र ११ जना कर्मचारीले कार्यसम्पादन भइरहेको बताए ।

उनले ८५ वटा पाठ्यक्रमको निर्माण दाबी गरेपनि कुन संकाय र तहका के कस्ता पाठ्यक्रम निर्माण गरेको बारे खुलाउन चाहेनन् । आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्चालन गरेको अधिकृत सातौ तह इन्जिनियरीङ्ग सेवाको २ हजार ३ सय ४८ जना परीक्षार्थीको लागि परीक्षा सञ्चालन गर्दा १ हजार ९६ जना परीक्षार्थीहरु सहभागि भएको प्रतिवेदनमा भनिएको छ ।
 


Author

थप समाचार
x