राजनीति

कांग्रेस महाधिवेशन

सभापतिका आकांक्षीहरूलाई देश दौडाहाको चटारो

दुर्गा आचार्य |
कात्तिक २५, २०७८ बिहीबार १७:२० बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी नेताहरूले नेता/कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । कति नेताहरू जिल्ला दौडमा छन् भने कतिपयले काठमाडौंमा बसेर भेटघाटलाई तीव्र बनाएका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमै रहेर महाधिवेशनकेन्द्रित रणनीति कोर्न व्यस्त छन् । देउवाले हरेक खाले नेताहरूसँग भेटघाटलाई बाक्लो बनाएका छन् । उनले बिहीबार पनि त्यसरी आफ्ना गुट र गुट छाड्दै गरेका नेताहरूसँग परामर्श गरे ।


तिहारअघि जिल्ला दौडमा निस्केका कतिपय नेताहरू तिहारपछि भने आफ्ना सम्पर्क कार्यालयमा बसेर महाधिवेशनको रणनीति बनाउन व्यस्त छन् । कतिपय भने तिहार लगत्तै जिल्ला दौडमा निस्किएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको क्रियाशील सदस्यता विवादमा देखिएका समस्या मिलाउन व्यस्त छन् । ‘कांग्रेसले क्रियाशील सदस्यता टुंगिएको भनेतापनि कतिपय क्रियाशील सदस्यता काटिएको, नवीकरण हुनुपर्नेको नयाँ सदस्यता भएर आएको, नयाँ हुनुपर्ने नवीकरण भएर आएको जस्ता समस्या देखिएको भन्दै जिल्ला जिल्लाबाट टेलिफोन आइरहेको छ’, उनको सचिवालयले भन्यो, ‘त्यसलाई मिलाउन उहाँ व्यस्त हुनुहुन्छ ।’

पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले बाँके, सुर्खेतलगायत जिल्लामा क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले षडयन्त्र गरिरहेकाले उहाँको व्यस्तता बढेको बताए । साथै पौडेलले जिल्लाबाट आएका नेता कार्यकर्तालाई पनि भेटिरहेका छन् ।

पौडेलको आउँदो २७ गते भने सिन्धुपाल्चोक र सिन्धुली जाने कार्यक्रम तय भएको छ  । सहयोगी अधिकारीले भने, ‘सिन्धुपाल्चोकमा कांग्रेस सभापति विकास लामाको श्रीमतीको श्रद्धाञ्जली सभा छ, त्यस्तै सिन्धुलीमा पनि त्यस्तै भेटघाटको कार्यक्रम छ ।’

सत्ता गठबन्धनबाट सरकारलाई सहयोग गर्ने भन्दै गठन भएको 'सतारुढ गठबन्धनको समन्वय समिति'को संयोजकमा पनि पौडेल चयन भएका छन्  । यसले पनि पौडेलको व्यस्ततालाई बढाएको छ ।

सभापतिका अर्का आकांक्षी कांग्रेस महामन्त्री सशांक कोइरालाकाे पनि तिहारपछि त्यस्तै कुनै राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन । घरमा नै देशभरका कार्यकर्तासँग फोन सम्पर्क र भेटघाट गरिरहेकोे कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिहारअघि सिन्धुली पुगेका कोइराला क्षेत्रीय अधिवेशन अघि कुनै जिल्ला जाने कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । ‘हामी महाधिवेशनको तयारीमा छौं सचिवालयबाटै नै देशभरका कार्यकर्तासँग समन्वय र सम्पर्क भइरहेको छ’, तिवारीले भने । तिहारअघि भने कोइराला चितवनको कार्यक्रममा सहभागी भएका थिए ।

कांग्रेस पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला भने भेटघाटको क्रममा आफ्नै गृहजिल्ला झापा पुगेका छन् । तिहारअघि नै झापा पुगेका उनी बुधबार पुन: झापा गएका हुन् । सिटौलाका सहयोगी प्रेम भट्टराईले दिएको जानकारी अनुसार केन्द्रीय समितिअघि नै सिटौला काठमाडौं फर्कनेछन् । 

कांग्रेस केन्द्रीय समिति २८ गतेलाई बोलाइएको छ । अहिले तत्काल जिल्ला जाने कुनै योजना नभएको भट्टराईले जानकारी दिए । उनले भने, ‘उहाँ फर्कनु भएपछि मात्रै जिल्ला जाने योजना बन्ला खासै त्यस्ताे ‘सेडुयल’ बनेको छैन् ।’ 

कांग्रेस उपसभापति विमलेन्द्र निधि पनि आउँदो अधिवेशनमा सभापतिका निम्ति भेटघाटमा व्यस्त छन् । उनले करिब दुई महिनाअघि काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोली तयारी तीव्र बनाएका छन् । ‘जिल्ला भ्रमणबाट फर्किएपछि काठमाडौँमा सम्पर्क कार्यलयमै बसेर जिल्लाका साथीहरूसँग कुराकानी गर्नुहुनेछ’, निधिका सल्लाहकार रामजी दाहालले भने, ‘प्रदेश २ को वडा अधिवेशन र देशभरको गाउँ नगर अधिवेशनपछि जिल्ला जाने कार्यक्रम तय भएको छ ।’

हालसम्म जिल्ला अधिवेशन सकिएका १३ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग टेलिफोनमा कुरा गरिरहेको दाहालले बताए । ‘हामी १३ जिल्लाको तथ्याकं हेरिरहेका छौं’ उनले भने, ‘तथ्याकंबाट हामी निकै उत्साहित छौं ।’

प्रदेश–२ मा अझै कांग्रेसको वडा अधिवेशन हुन सकेको छैन । आउँदो  २७ गते प्रदेश २ लगायत देशभर बाँकी रहेका वडाहरूको वडा अधिवेशन कांग्रेसले तोकेको छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला तिहार अघि लुम्बिनी प्रदेशका नेता कार्यकर्तासँग भेटघाट गरेर फर्किएका छन् । उनले अहिले बाहिरी राजनीतिक कार्यक्रमलाई भन्दा पनि कोठे बैठक र भेटघाटलाई तीव्रता दिएका छन् । 

उनको सचिवालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा २६ घण्टामा शेखरले सात जिल्लाका नेता कार्यकर्तासँग भेटेका छन् । उनका सहयोगी दिनेश चन्द्र थपलियाले भने, ‘२६ घण्टा निकै फलदायी भयो, आफूनिकट र संस्थापनइतर टिमका नेता कार्यकर्तालाई भेटेर उहाँले आफू सभापतिका लागि निकै अगाडि बढेको भन्दै सहयोग गर्न आग्रह गर्नुभयो ।’

सिंगो सचिवालय नै बोकेर बुटवल पुगेका उनले परासी, रुपन्देही, कपिलवस्तु, प्युठान, गुल्मी, पाल्पा र अर्घाखाँचीका संस्थापनइतरका सबै जिल्लास्तरका नेतालाई सामूहिक रुपमा बोलाएर आफू सभापतिको दौडमा धेरै अघि पुगिसकेको, कुनै हालतमा पछाडि नफर्कने र पार्टीका सिनियर नेताहरूको उचित व्यवस्थापन गर्ने बताएका थिए ।

जवाफमा संस्थापनइतरबाट एक जनामात्रै सभापतिको उम्मेदवार बन्‍न उनलाई जिल्ला नेताले सुझाएका थिए । विभिन्न जिल्लामा रोकिएको वडा अधिवेशन सकिनासाथ अन्य प्रदेशमा पनि राजनीतिक भेटघाटमा जाने कोइरालाको सचिवालयले जनाएको छ । 

सभापतिको तयारीमा तीव्र रुपमा लागेका कोइरालाले घरमा र बालुवाटारमा रहेको आफ्नो सम्पर्क कार्यालयमा रुटिन बनाएर नेता कार्यकर्ता भेटिरहेका छन् । बिहान ८–११ बजेसम्म र दिउँसो १–५ बजेसम्म विभिन्न जिल्लाबाट आफ्नो समूहका मानिसहरू बोलाएर भेटिरहेको उनको सचिवालयले जनाएको छ । ‘अहिले कोठे बैठकलाई तीव्रता दिएका छौं’, उनको सचिवालयले भन्यो, ‘विभिन्‍न क्लस्टरमा कुराकानी भइरहेको छ ।’

शेखरको सचिवालयमा बसेर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पूर्वसचिवद्वय विश्वप्रकाश पण्डित र कृष्ण ज्ञवाली, कांग्रेसका पूर्व मुख्यसचिव ऋषिकेष तिवारी, राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष गोविन्द पोखरेल, पूर्व सहसचिव गणेशराज कार्की र इन्जिनियर कुलप्रसाद आचार्यलगायतले काम गरिरहेका छन् । 

सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह बर्दिया र नेपालगन्जमा छन् । सभापतिको तयारीका लागि देश दौडाहामा निस्केका सिंह बुधबार त्यता गएका हुन् । सिंहको सचिवालयका अनुसार २८ गतेको केन्द्रीय समितिका लागि सिंह शुक्रबार काठमाडौँ फर्कँदैछन् । 

त्यसलगत्तै सिंहको पोखरा जाने कार्यक्रम छ । मंसिर १/२ गते सुनसरी विराटनगर जाने कार्यक्रम सिहंको तय भएको छ । तिहारअघि पनि सिंह बुटवल, विराटनगर, धादिङ र सिन्धुली पुगेर फर्किएका थिए । 


Author

थप समाचार
x