राजनीति

एमालेको अवरोधसँगै बागमती प्रदेश सभा बैठक स्थगित

इकागज |
पुस ७, २०७८ बुधबार १६:२० बजे

हेटौंडा -  प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधसँगै बुधबार बसेको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा समसामयीक विषयमा दलको कुरा राखेसँगै एमालेका सांसदहरूले उठेर संसद चल्न दिएनन् । 

बागमती प्रदेशमा ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्‍याएको, मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको एक कार्यक्रममा आफ्नो पार्टी गठन गरेर आए बजेट दिने नत्र एक सुका पनि बजेट नदिने भनेर दिएको भाषणको औचित्य पुष्टि हुने जवाफ एमालेले तथ्यगत रुपमा माग गरेको छ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको पूर्व सरकारको योजनाहरू रोक्ने गरेको भन्दै प्रदेशको गौरवको आयोजना तथा बजेट समेत विनियोजन भई सम्झौता भइसकेको योजनाहरू नरोकी यथावत कायम गर्न माग गरे । 


प्रदेशको गौरवको आयोजना सुरुङमार्ग रोक्ने, पुन टेन्डर हुन लागेको विद्युतीय बसलाई रोक्ने जस्ता पूर्व सरकारको निर्णहरू उल्टाउने काम अहिलेको सरकारले गरेको भन्दै त्यस विरुद्ध उनले आपत्ति जनाए । पूर्व मुख्यमन्त्री पौडेलले ४२ महिनासम्म बागमती प्रदेशलाई कसैले औंला उठाउन पनि नसकको भन्दै अहिले प्रदेशको नाम सातै प्रदेशमा बदनाम भएको बताए । कुनै एक व्यक्तिले गरेको बदनाम प्रदेशले स्वीकार नगर्ने बताए । वर्तमान सरकारले गरेको ज्यादती र अपराध प्रमुख प्रतिपक्षले टुलुटुल हेरेर नबस्ने समेत पौडेलले बताए । 

बागमती प्रदेशको मुख्यमन्त्री बनेको ५५–५६ दिनमै प्रदेश सरकार निरिह र गलेको पौडेलले आरोप लगाए । अझै तीन मन्त्री र केही राज्यमन्त्री थप गर्न बाँकी भएको भन्दै चौथो पटक पनि मन्त्रीपरिषद् पुर्नगठन गर्न तयारी भएको बताए । आफ्नो ४२ महिने कार्यकालमा ३ पटक मन्त्रीपरिषद् पुर्नगठन गरेका पौडेलले ५० दिनमै चौथो पटक मन्त्रीपरिषद् पुर्नगठन गर्र्ने अवस्था आएको भन्दै बागमती प्रदेशको छवी ध्वस्त बनाएको बताए । संघीयता विरोधीहरूलाई अहिले मसला भइरहेको भन्दै जताततै बागमती प्रदेशको विरोध मात्र सुनिएको बताए । 

एकै भवनमा पाँच वटा मन्त्रालय स्थापना गरेर सहकारीको भवन हो की मन्त्रालयको हो भन्दै उनले ब्यङ्ग्य समेत गरे । १० करोड बजेट भएको महाशाखालाई युवा तथा खेलकुद मन्त्रालय बनाएर सरकार अघि बढेको भन्दै सरकारको आलोचना गरे । बागमती प्रदेश सभामा पर्यटन विधयेक सम्बन्धी समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसुचि भएपनि संसद अघि बढ्न सकेन । बामगती प्रदेश सभा बिहीबार बिहान ८ बजसम्मको लागि स्थगित भएको छ । 

बागमती प्रदेशमा प्रतिपक्षहरू एकजुट 

बागमती प्रदेशमा सत्तारुढ दलहरू बाहेकका प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्ष दलको भूमिकामा भएको एमालेले बोलाएको सर्वदलिय बैठकमा सरकालाई खबरदारी गर्ने, सरकारको गलत क्रियाकपालमा सम्पूर्ण प्रतिपक्ष दलहरू एकै स्थानमा उभिने भएका छन् । बुधबार एमाले संसदीय दलको कार्यालयमा बसेको सर्वदलिय बैठकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई, विवेकशील साझाका रमेश पौडेल, विराजभक्त महर्जन, राप्रपाकी रिना गुरुङ, रिता माझी लगायत एमाले बागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो । सर्वदलिय बैठकले प्रमुख प्रतिपक्षहरू एक भएको सन्देश समेत दिएको छ । प्रतिपक्षको भूमिका रहेका सबै दलहरूलाई समेटेर एमालेले संसद अवरुद्ध गर्ने लगायत साझा अवधारणा बनाएर अघि बढ्ने निष्कर्श निकालेको एमाले प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।


Author

थप समाचार
x