राजनीति

धनगढीमा प्रधानमन्त्रीको ४५ मिनेट लामाे सम्‍बाेधन

अधिकांश समय दाहाल-नेपालको आलोचनामा खर्च, निर्मला प्रकरण बारे एक शब्द बोलेनन्

नवराज पनेरु |
पुस २४, २०७७ शुक्रबार १७:२३ बजे

कैलाली : संसद विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यका बाहिर आए । उनको पहिलो रोजाईमा प¥यो सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषद्मा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो । 

देशव्यापी दौडाहाको पहिलो गन्तव्य सुदूरपश्चिम बनाउँनुमा थुप्रै कारण छन् । नेकपा विभाजित हुनुअघि पार्टी भित्र ओलीका चर्को विरोधीका रुपमा चिनिन्थे, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । रावललाई गृह क्षेत्रमा कमजोर बनाउनका लागि ओलीले सुदूरपश्चिम रोजेको कतिपयको धारणा छ । धनगढीमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका विकासे योजनासंगै रहस्यमा रहेका कतिपय घटनाबारे सम्बोधन गर्लान भन्ने आकलन सुदूरपश्चिमबासीको थियो । 


४५ मिनेटको सम्बोधनमा धेरै समय समय नेकपाकै इतरसमूहका नाममा खर्चिए । त्यसबाहेक मञ्चमा रहेका नेताहरूलाई नाम सोधीसोधी सुदूरपश्चिमका चर्चित तर अधूरा योजनाबारे भने सम्बोधन गरे । उनले भने, ‘अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछाडि पार्न सक्दैन् ।’ सोही कार्यक्रममा झण्डै आधा दर्जन युवाहरूले ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका थिए । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी पन्तको हत्यामा संलग्न अझै पक्राउ नपरेकोले दोषीलाई कारवाहीको मागसहित ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएको प्रतिक्रिया उनीहरूको थियो ।

उनीहरूले निर्मलाको बलात्कारगरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । तर पौने घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले उक्त घटनाबारे एक शब्द पनि बोलेनन् । 

उनको अधिकासं समय नेकपाकै दाहाल–नेपाल समूहको आलोचना गर्नैमा खर्च भयो । उनले दाहाल–नेपाल समूहलाई आगामी चुनावमा १० सिट जितेरउन चुनौती दिन भ्याए तर सुदूरपश्चिम आएर निर्मला घटनाबारे बोल्ने आँट गरेनन् । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ ।

याे पनि 

प्रधानमन्त्रीको कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' भन्‍ने युवाहरू पक्राउ

धनगढी पुगेर प्रधानमन्त्री ओलीले भने, ‘सुदूरपश्चिमलाई कसैले पछाडि पार्न सक्दैन

 

 

 

 


Author

थप समाचार
x