राजनीति

विप्लवलाई कस्को सुरक्षा 'थ्रेट' ?

विप्लव स्रोत भन्छ : सुरक्षा मागेकै छैन

सन्तोष अधिकारी |
फागुन २५, २०७७ मंगलबार १८:११ बजे

तस्बिर : सरोज बैजु/इकागज

काठमाडौँ :  सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच फागुन २० गते प्रतिबन्ध फुकुवा गर्ने र हिंसात्मक राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आउने सहमति भयो । लगत्तै २१ गते काठमाडौँस्थित सभागृहमा तीन वर्षपछि सार्वजनिक विप्लव र सरकारबीच सहमतिमा हस्ताक्षर भयो । विप्लव सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन थालिसके । 

एकातिर सरकारले भीभीआइपीहरुको सुरक्षा कटौती गरिरहेको छ भने अर्काेतिर नेत्रविक्रम चन्द (विप्लव) लाई १० जना प्रहरी सुरक्षाको लागि खटाएको छ ।विप्लवमाथिको सुरक्षा थ्रेट मूल्यांकन गरेर प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली खटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 


‘उहाँ (विप्लव) माथिको सुरक्षा थ्रेटको मूल्यांकन गरेर सुरक्षाको व्यवस्था गरिएको छ,’ पराजुलीले भने, ‘गृहमन्त्रालय र जिल्ला प्रशासनको समन्वयमा प्रहरी खटाइएको छ । काठमाडौँमा हुँदा काठमाडौँ प्रहरीले सुरक्षा दिन्छ । बाहिर जाँदा स्थानीय प्रशासनले स्थानीय प्रहरी खटाउँछ ।’ विप्लवको सुरक्षाको लागि एउटा अगुवा गाडी पनि गृहमन्त्रालयले उपलब्ध गराएको छ । 

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवर विप्लवको लागि सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीको केन्द्रीय निर्देशन नरहेको र स्थानीय प्रशासनले नै व्यवस्था मिलाएको बताउँछन् । ‘सुरक्षा व्यवस्था मिलाउनु भनेर केन्द्रीय तहबाट निर्देशन छैन,’ उनले भने, ‘यो सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले नै गरेको सुरक्षा व्यवस्था हो ।’ 

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा विप्लवमाथि कुनै सुरक्षा थ्रेट नरहेको दाबी गर्छन् । तर, उनले उनको सुरक्षाका लागि प्रहरी व्यवस्था गरेको भने बताए । ‘शान्ति प्रक्रियामा आइसकेपछि कुनै सुरक्षा थ्रेट छैन । शान्तिपूर्ण राजनीतिमा शान्तिपूर्ण अघि बढ्ने हो नि,’ उनले भने, ‘आम नागरिकको सुरक्षा सरकारले गर्छ ।’   

विप्लव समूहले भने सरकारले नै सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ । 'हामीले सुरक्षा चाहियो भनेर मागेको हाेइन,' विप्लवको केन्द्रीय कार्यलय स्राेतले भन्यो,'सरकारले नै व्यवस्था गरेको हाे । जुन जिल्लामा गयो साेही जिल्लाको प्रहरीले सुरक्षा दिने भन्‍ने छ ।' 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x