राजनीति

एमालेभित्रको विवाद :

ओलीविरुद्ध समानान्‍तर कमिटी बनाउने तयारीमा नेपाल समूह

सन्तोष अधिकारी |
फागुन २७, २०७७ बिहीबार १९:५३ बजे

काठमाडौँ : सर्वोच्च अदालतले एकीकरण अस्वीकार गरेपछि एमाले र माओवादी प्रतिनिधि सभामा दुई दल वटा भइसके । राजनीतिक रुपमा त एकले अर्कोलाई गलाउने रणनीति सुरु भइसकेको छ । यो रणनीति सफल पार्न एमालेमा अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले नेतृत्व गरेका छन् भने माओवादी केन्द्रको नेतृत्व पुष्पकमल दाहालले गरेका छन् । 

यी दुई पार्टी एकीकरणपछि बनेको नेकपामा भने एमालेकै एउटा तप्‍का (माधव नेपाल समूह) दाहाल समूहलाई सहयोग गर्न गयो । उनै नेपाल र दाहालले त ओलीलाई नेकपाको साधारण सदस्य र अध्यक्षबाट समेत हटाउने निर्णय गरेका थिए । तर, सर्वोच्च अदालतको अनौठो आदेशपछि ओलीलाई कारबाही गर्ने नेपाल तिनै ओली नेतृत्वको एमालेमा फर्किएका छन् । 


माधवकुमार नेपाल-झलनाथ खनाल पुष्पकमल दाहालसँगको सहकार्य छोडेर आएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखे,'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।' थापाले भनाइको संकेत नेपाल(खनाललाई पहिले एमालेमा पाएको सम्‍मान् दिन नसकिने स्पष्ट संकेत थियो । 

एमालेभित्र नेपाल समूहलाई केपी ओली समूहले कसरी पेल्दैछ भन्‍नको लागि सुदुरपश्‍चिम प्रदेशमा भएको झगडा हेरे पुग्‍छ । त्यहाँ पूर्वमाओवादी तथा ओली समूहमा लागेका लेखराज भट्ट र एमालेकै उपाध्यक्ष भीम रावल पक्षबीच विवाद् भएको हो । रावल, माधव नेपाल पक्षका हुन् ।बिहीबार खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि अध्यक्ष ओलीले २०७५ जेठ २ भन्दा अघिकै अवस्थामा फर्केर व्यवहार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

'आजको बैठकले संगठित गुण्डागर्दी गरेको भन्दै केपी ओलीको ध्यानाकर्षण गराएको छ । प्रतिवाद गर्न आफ्नो पक्षलाई आह्वान गरेका छौँ । बैठकले पार्टी केन्द्रीय समितिको बैठक आह्वान गर्न, पार्टी स्थायी कमिटी बैठक डाकेर वामपन्थी एक बनाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ, एक नेताले भने, 'यी कुरा नमान्‍ने र ओली यिनलाई पेलेरै जाने भनेर लाग्छन् भने समानान्तर बनाएर जाने भन्‍ने तयारी छ । आवश्यक परे पार्टीको राष्ट्रिय भेला डाक्ने, जनवर्गीय संगठनको राष्ट्रिय भेला डाक्ने, जिल्ला-जिल्लामा कार्यक्रम पनि गरिन्छ ।' 

नेपाल समूहमा तत्काल खुलेका ११ जना एमालेका स्थायी कमिटी सदस्य छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, र अमृत बोहोरा ओलीविरोधी खेमाका स्थायी कमिटी सदस्य हुन् । बिहीबारको बैठकले ओली पक्षको पछिल्लो गतिविधिविरुद्ध आपत्ति जनाएको घनश्याम भुसालले बताए । ‘केपी ओलीले देशभरि चलाएको गुण्डागर्दी, मान्छे कुट्ने, कब्जा गर्ने मान्छे लखेट्ने धरपकड गर्ने, हेप्नेलगायतका विषयलाई तत्काल रोक्न आग्रह गर्ने निर्णय भएको छ,’ नेपाल पक्षका नेता  घनश्‍याम भुसालले इकागजसँग भने ।

भुसालले अहिलेको नेकपा २०७५ जेठ २ गतेसम्मको अवस्थामा पुगेकाले पार्टीमा हस्तक्षपको राजनीति नचल्ने बताए । ‘अहिलेको अवस्था भनेको एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्कनु हो । त्यसैलाई प्रस्थानविन्दु मानेर पार्टीको काम कारबाही अगाडि बढाउने हो,’ उनले भने, ‘त्यसबेलामा भएका सहमतिलाई कसरी अगाडि बढाउने भनेर छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय पनि आजको बैठकमा भएको छ ।’  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x