राजनीति

किराँतीले दाहाल, भट्टराई, वैद्य र चन्दलाई पूर्वमाओवादी मिल्न आग्रह गर्दै लेखे पत्र

दाहालको सकारात्मक प्रतिक्रिया आयो, अरुको आएको छैन : किराती

विनोद देवकोटा |
चैत ११, २०७७ बुधबार २०:३ बजे

काठमाडौँ : गोपाल किराँतीले सवै माओवादी समूहलाई एक हुन भन्दै पत्राचार गरेका छन् । सबै माओवादी शक्तिबीच एकताका लागि केन्द्रका अध्यक्ष किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्र विक्रम चन्दलाई पत्राचार गरेका हुन् ।
 
निर्वाचन आयोगमा माओवादी केन्द्र दर्तासमेत गरेका किराँतीले पूर्वमाओवादीहरूलाई एक हुन आह्वान गर्दै पत्र पठाएको जानकारी दिए । उनकाअनुसार दाहालले पत्रको प्रारम्भिक प्रतिक्रियासमेत दिएका छन् । 

‘दाहालको तर्फबाट मातृका यादवले भेट्नु भयो,’ उनले भने, ‘जुटौं भन्‍ने खालको दाहालको सन्देश यादवले सुनाउनु भयो । त्यस्तो कुनै टुंगोमा भने पुगेको छैन । अरुले प्रतिक्रिया दिनु भएको छैन ।’


किरातीले देश भयानक दुर्घटनातर्फ जान लागेको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै पूर्वमाओवादीहरू एक हुनुपर्ने बताए । वैचारिक विषयमा भने छलफल गर्दै जान सकिने विकल्प आफूले अघि सारेको उनले बताए । 

‘देश भयानक दुर्घटनातर्फ जाँदैछ भन्‍ने देखिदिन्छ । अब के गर्न त ? विप्लवजी पनि सडक आन्दोलनमा भर्खर आउनु भयो,’ उनले भने, ‘हामीले के भनेका छौं भने प्रचण्डजी, बाबुराम, विप्लव र हामी समाजवाद भन्छौं । प्रकारहरू फरक होलान् । वैद्यजीले जनगणतन्त्र भन्नुहुन्छ । त्यस कारण समाजवाद र जनगणतन्त्रमा जुटौं भनेर आग्रह गरेका हौं ।’

माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरण गरेपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । सर्वोच्चको आदेशले एकता बदर भएपछि एमाले र माओवादी ब्युँतिएका छन् । दाहालले एमालेसँग एकता गरेपछि किँरातीले माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता गरेका थिए । 
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x