राजनीति

उपमहानगर चुनावी मैदानमा गठबन्धन भर्सेज् एमाले : को कति बलियो ?

उपेन्द्र अर्याल |
बैशाख २७, २०७९ मंगलबार १७:५३ बजे

काठमाडौं– मौन अवधि लागू हुन केही घण्टा मात्र बाँकी रहँदा उम्मेदवारहरुलाई मतदाताको घरदैलोमा पुगेर मत माग्न भ्याइ–नभ्याइ छ । 

यसपटकको निर्वाचनमा एकाधबाहेक अधिकांश ठाउँमा मुख्य गरी एमाले र पाँच दलीय सत्ता गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विशेषगरी महानगर र उपमहानगरको जितलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । २०७४ को निर्वाचनमा ११ उपमहानगरमध्ये नेकपा एमालेले ७ वटामा जित निकालेको थियो भने दोस्रो ठूलो कांग्रेसको पोल्टामा दुई उपमहानगर परेकाे थियाे । त्यस्तै, तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनता पार्टी (राजपा) को भागमा समान एक–एक उपमहानगर परेको थियो ।


त्यतिबेला ७ वटा उपमहानगर जितेको एमालेलाई यसपकट आफ्नो विरासत जोगाउन कठिनाई हुने अनुमान गरिएको छ । पार्टी विभाजन र पाँच दलीय गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ । त्यसो त गठबन्धनलाई पनि यसपालि सहज देखिँदैन । गठबन्धनमा सम्मिलित दलहरुभित्रको आन्तरिक खटपट र बागी उम्मेदवारहरुले उसलाई गाह्रो हुने देखिन्छ । तर, दुवैले आ–आफ्नो विजयको बिगुल फुकिसकेका छन् । 

धरान र इटहरीमा एमालेको विरासत भत्काउन कांग्रेसलाई सकस

प्रदेश–१ का दुई उपमहानगर धरान र इटहरी एमालेको गढ भनेर चिनिन्छ । अघिल्लो  निर्वाचनमा दुवै उपमहानगर एमालेले जितेको थियो । कांग्रेस दोस्रोमा सीमित थियो । धरानमा तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए । तर, सुब्बाको असामयिक निधन भएपछि उपचुनावमा कांग्रेसका तिलक राईले जितेका थिए ।

यसपटक धरान उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघालाई उठेका छन् । एमालेले भने मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदमप्रसाद लिम्बुलाई उठाएको छ । 

अघिल्लो निर्वाचनमा इटहरी उपमहानगरमा एमालेका द्वारीकालाल चौधरी २२ हजार ६ सय ८९ मतका साथ निर्वाचित भएका थिए । चौधरी मेयरमा निर्वाचित हुँदा कांग्रेसका रोहितप्रसाद प्रसाईंले १९ हजार ९ सय ८५ मत ल्याएर दोस्रो र माओवादीका हरीमाया जिमीले ३ हजार ३ सय ६४ मतसहित तेस्रो बनेका थिए । 
उपमेयर पनि एमालेकै लक्ष्मीकुमारी गौतमले जितेकी थिइन् । उनले २१ हजार ८ सय ४२ मत ल्याएकी थिइन् । कांग्रेसकी विमला शिवाकोटीले १८ हजरा ३ सय ५२ मत ल्याएकी थिइन् । 

यसपटक गठबन्धनले इटहरी उपमहानगरको मेयरमा हेमकर्ण पौडेललाई उठाएको छ । उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई उम्मेदवार बनाएको छ । उनीहरुको प्रतिस्पर्धीको रुपमा एमालेले मेयरमा यामकुमार चुङ्गवाङ सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उठाएको छ ।  
अघिल्लो निर्वाचनको मतको मूल्यांकन गर्दा धरान र इटहरी दुवै उपमहानगरमा एमाले अगाडि देखिए पनि यसपालि उसलाई गठबन्धनका कारण आफ्नो जित कायम राख्न सहज हुनेछैन ।

धरानको उपनिर्वाचनमा जितेको कांग्रेसलाई एमालेको गढ भनेर चिनिने ठाउँमा आपूmलाई स्थापित गराउन मुस्किल छ । तर, यसपटक गठबन्धनको पनि साथ पाएकाले कांग्रेस धरानमा आफ्नो जित निकाल्ने दाउमा छ । 

इटहरी उपमहानगरपालिका अघिल्लो पटक एमालेले जितेको भएता पनि वर्तमान मेयर चौधरी धेरै पटक विवादित बने । यसपटक एमालेको विभाजनले पनि एमालेसँग पुराना सबै मतादाता छैनन् । जसले गर्दा गठबन्धनलाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ । तर, गठबन्धन र एमाले दुवैलाई इटहरी र धरान उपमहानगरमा जित निकाल्न नयाँ थपिएका मतदातामा भर पर्नुपर्ने देखिन्छ । 

हेटौंडामा लामाले रच्न सक्लिन् नयाँ इतिहास ?

हेटौंडा उपमहानगरमा गठबन्धनले मेयरमा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँलाई उठाएको छ । भने एमालेले अनन्तप्रसाद पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेयरको उम्मेदवार बनाएको छ । 

हेटौंडामा एमालेको तीन दशक लामो विरासत छ । उसलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने सत्ता गठबन्धनलाई एमालेको विरासत भत्काउने चुनौती देखिन्छ । गठबन्धनबाट मेयर उम्मेदवार लामा अघिल्लो पटक एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । पार्टी विभाजन भएपछि लामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएकी हुन् । यसपटक उनलाई एमालेको विरासत भत्काउने अवसर छ । 

२०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । तैपनि एमालेले मेयर र उपमेयर दुवैमा जितेको थियो । तर यसपटक पार्टी विभाजनले एमालेलाई चुनौती थपिएको हो । लामालाई एमालेको मत कति आउला भन्ने कुराले उनको जित निर्धारण गर्ने देखिन्छ ।  

त्यसो त, एमालेलाई पनि कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गर्ने निर्णय गरेको छ । यसले पनि एमालेलाई केही सहयोग हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार यस वर्ष हेटौंडामा २० हजार ९ सय ३६ नयाँ मतदाता थपिएका छन् । यी मतदातालाई कसले आकर्षित गर्छ भन्ने कुराले पनि हेटौंडाको नेतृत्व चुन्न असर गर्ने देखिन्छ । 

घोराही र तुल्सीपुरमा एमालेलाई आफ्नो साख जोगाउन सकस

२०७४ को निर्वाचनमा दाङका दुई उपमहानगर घोराही र तुलसीपुर उपमहानगर एमालेले जितेको थियो । अघिल्लो निर्वाचनमा दाङका दुवै उपमहानगर जितेको एमालेलाई यसपटक गठबन्धन चुनौती बन्ने देखिन्छ । गठबन्धनले घोराहीमा माओवादी केन्द्रका हेमराज शर्मालाई मेयर र कांग्रेसका भुपबहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।  एमालेले नरुलाल चौधरीलाई मेयर र हुमा डिसीलाई उपमेयरको उम्मेदवारका रुपमा उठाएको छ ।  

यस्तै, तुल्सीपुरमा गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी र उमपयेरमा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले उम्मेदवारी दिएका छन् । एमालेले टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उमपमेरको उम्मेदवार बनाएको हो । 

गत निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३० ल्याएर घोराही उपमहानगरको मेयर बनेका थिए भने सीता सिग्देल न्यौपाने २० हजार ९ सय ९२ मत ल्याएर उपमेयर बनेकी थिइन् । 

त्यस्तै, एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गरेर तुल्सीपुरको मेयरमा निर्वाचित भएका थिए भने माया शर्मा २१ हजार ३७ मत प्राप्त गरेर उपमेयरमा निर्वाचित भएकी थिइन् । 

घोराही उपमहानगरको निर्वाचनमा प्रथम भएर चौधरी र सिग्देल मेयर र उपमेयर जित्दै गर्दा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए । तुलसीपुरको उपमहानगरको निर्वाचनको हकमा पनि यही भयो ।  अर्थात्, सबैभन्दा धेरै भोट ल्याएर पाण्डे र शर्मा विजय हुँदै गर्दा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थियो । 

तर, आसन्न चुनावमा भने एमालेलाई यी दुवै उपमहानगर आफ्नो पोल्टामा पार्न सहज देखिँदैन । कारण, यसपालि सत्ता गठबन्धनमा आबद्ध पाँच दलहरु एक भएर चुनाव लड्दैछन् । कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले चुनाव लड्न ‘मजबुत’ रणनीति बनाएर अघि बढेको छ । 

घोराही र तुल्सीपुर दुवै उपमहानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेस र माओवादीको भोटलाई मात्र जोड्दा पनि एमालेलाई पराजित गर्न काफी देखिन्छ । घोराही उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको भोट जोड्दा २९ हजार ५ सय ६६ हुन्छ । जुन एमालेले ल्याएको भन्दा ७ हजार ५ सय २६ ले बढी हुन्छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको भोट जोड्दा २७ हजार ५ सय ९६ हुन्छ । जुन एमालेकोभन्दा ४ हजार ७ सय ३९ ले बढी हुन्छ ।

दुवै उपमहानगरका दुवै उपप्रमुखको तुलनामा पनि गठबन्धन अगाडि देखिन्छ । त्यसमाथि एमाले फुटिसकेपछि ऊ पहिलेको जस्तो बलियो छैन । त्यसो त, एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग गठबन्धन गरेको छ । तर, गठबन्धन गरिएका यी दलको मतले एमालेलाई जित्न पर्याप्त देखिँदैन । 

बुटवलमा कांग्रेसलाई जित हासिल गर्न कठिन

बुटवल उपमहानगरको मेयरमा एमालेबाट बाबुराम भट्टराई उम्मेदवार बनेका छन् । गठबन्धनबाट कांग्रेसले खेलराज पाण्डेयलाई उम्मेदवार बनाएको छ । पाण्डेय अघिल्लो निर्वाचनमा पनि बुटवलको उम्मेदवार थिए । अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ भोट पाएर विजयी भएका थिए ।

त्यसबेला गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पाण्डेयले २० हजार ८५१ भोट पाएर दोस्रो भएका थिए । त्यस बेला पनि माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । कांग्रेस माओवादीको गठबन्धनका बावजुद एमालेका सुवेदीले जितेका थिए ।  

अघिल्लो निर्वाचनमा गठबन्धनका बावजुद हारेका पाण्डेलाई यसपटक पनि एमालेका बाबुराम भट्टराईलाई जित्न भने मुस्किल देखिन्छ । तर, यसपटक गठबन्धनमा जसपा र जनमोर्चाको पनि मत पनि थपिएकाले पाण्डेयले जित्ने सम्भावना भएको नेताहरूको भनाइ छ । एमालेको पकड क्षेत्र मानिएको बुटवलमा गठबन्धनले जित हासिल गरे अघिल्लो निर्वाचनको हारको बद्ला लिनेछ । 

२०७४ को निर्वाचनमा बुटवल उपमहानगरमा ६६ हजार ६ सय ६३ जना मतदाता थिए । आयोगको तथ्यांकअनुसार हाल ९० हजार ६५ जना मतदाता छन् । नयाँ थपिएका मतदाता २३ हजार ३ सय ७२ जाना हुन् । नयाँ मतदातालाई कसले आकर्षित गर्न सक्छ भन्ने कुराले पनि मत परिणाममा असर गर्छ ।  

नेपालगञ्ज र धनगढीमा गठबन्धन बलियो

नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्टले उम्मेदवारी दिएका छन् । एमालेले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पशुपति दयाल मिश्रालाई मेयरको उम्मेदवार बनाएको छ । राप्रपाबाट नन्दलाल वैश्य मेयरका उम्मेदवार छन् । अघिल्लो पटकको निर्वाचनमा राप्रपाका धवलशम्शेर राणाले  मेयर पद जितेका थिए । तर, यसपटक उनी भने चुनावी मैदानमा छैनन् । नेपालगञ्जको मेयर पदमा मुख्य त्रिपक्षीय भिडन्त देखिए पनि राप्रपाबाट बलियो उम्मेदवार नदेखिएकाले नेपालगञ्जमा गठबन्धन र  एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसपटक गठबन्धनसँग एमाले र राप्रपा एक्ला–एक्लै भिड्दै छन् । 

यसअघिको निर्वाचनमा राप्रपाका धबलशम्शेर जबरा १२ हजार ५१५ मत प्राप्त गरेर जितेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका सुरेशकुमार कनोडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १ सय ९८, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमका कमरूद्दीन राईले ५ हजार ४ सय ४१ र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरेका थिए । 

यही तथ्यांकलाई आधार मान्दा गठबन्धनमा रहेका दलको मतभार बढी हुने देखिन्छ । अघिल्लो निर्वाचनमा चौथो भएको एमालेलाई गठबन्धनलाई हराउन मुस्किल पर्ने देखिन्छ । 

धनगढी उपमहानगरमा गठबन्धनको तर्फबाट कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दिएका छन् । उपमेयरमा माओवादीकी शान्ति अधिकारीले उम्मेदवारी दिएकी छिन् । एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमालको नाम पनि चर्चामा छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको थियो । मेयरमा कांग्रेसका नृपबहादुर ओड १४ हजार ३ सय २४ मतका साथ विजयी भएका थिए । उपमेयरमा सुशीला मिश्र १७ हजार ४ सय ८ मतका साथ विजयी भएकी थिइन् । 

स्वतन्त्र रुपमा उठेका हमाल नृपबहादुर वडसँग २ हजार ७ सय मतान्तरले पराजित भएका थिए । निर्वाचनमा माओवादीका रामसमझ राना १० हजार २ सय मत प्राप्त गरेर तेस्रो भएका थिए भने नेकपा एमालेका दुर्गा जोशी ९ हजार ९ सय ४६ मत पाएर चौथो भएका थिए । 

अघिल्लो निर्वाचनमा धनगढीका १२ वडामा कांग्रेसले जितेको थियो । पाँचवटा वडामा माओवादी र दुईवटा वडामा एमालेले जित हासिल गरेको थियो ।  

अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने धनगढीमा गठबन्धनलाई जित निकाल्न अन्य उपमहानगर भन्दा एकदमै सहज देखिन्छ । यस पटक पनि गठबन्धनलाई एमालेभन्दा स्वतन्त्रबाट उठेका हमाल नै चुनौती बन्ने सम्भावना छ । 

कलैया र जीतपुरसीमरामा निर्णय नयाँ मतदातामा निर्भर 

बारामा कलैया र जितपुरसीमरा उपमहानगरमा गठबन्धन र एमालेकै भिडन्त हुने देखिन्छ । २०७४ को निर्वाचनमा कलैया कांग्रेस र जितपुरसिमरा एमालेले जितेका थियो । अहिले दुवै पक्ष जित आफ्नो पक्षतिर ल्याउन प्रयासरत छन् । दुवै उपमहानगरमा थपिएका नयाँ मतदाता निर्णायक हुने अनुमान गरिएको छ । 
२०७४ मा कलैया उपमहानगरमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । यसपटक गठबन्धनका तर्फबाट कांग्रेसले मेयरमा राजेश राय यादवलाई नै उम्मेदवार बनाएको छ । उपमेयरमा भने जसपाका प्रमोद गुप्तालाई उठाएको छ ।  

एमालेले अघिल्लो निर्वाचनमा हारेका विनोद साहालाई नै उठाएको छ । अघिल्लो निर्वाचनमा एकदमै कम मतान्तरले जितेको कांग्रेसलाई आफ्नो जित कायम राख्ने चुनौती छ ।

२०७४ को निर्वाचनमा मेयरमा विजयी भएका कांग्रेसका उम्मेदवार यादवले १० हजार ९ सय ३ मत ल्याएका थिए । एमालेका साहले १० हजार ७ सय १६ मत पाएका थिए । यी दुईसँगै मेयरमा लडेका तत्कालीन संघीय समाजवादीका प्रमोद गुप्ताले ९ हजार ४ सय ४, माओवादीका मुकेश साहले ४ हजार ३ सय ७१ मत ल्याएका थिए । 

अघिल्लो निर्वाचनको मतलाई जोड्दा गठबन्धनको मत २४ हजार ६ सय ७८ हुन्छ ।  एमालेको मत १० हजार ७ सय १६ छ ।  यसरी हेर्दा गठबन्धन निकै बलियो देखिन्छ । 

कलैयामा अहिले १३ हजार ८ सय ६६ नयाँ मतदाता बढेका छन् । नयाँ थपिएका मतदाताको मतले पनि निर्वाचनमा थोरै केही प्रभाव पर्न सक्छ । 
 

जितपुरसीमरामा उपमहानगरमा पनि कलैयामा जस्तै सत्तागठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनबाट माओवादीले राजन पौडेललाई मेयरमा र कांग्रेसले मेघा शाहीलाई उपमेयको उम्मेदवार बनाएको छ । एमालेले निवर्तमान उपमेयर सरस्वती चौधरीलाई मेयरमा उठाएको छ । उपमेयरमा पनि एमालेले महिला उम्मेदवार रोशन प्रवीणलाई उठाएको छ । २०७४ को निर्वाचनमा जितपुरसीमराको मेयर र उपमेयर दुवै पद एमालेले जितेको थियो । 

एमालेका कृष्ण पौडेल कांग्रेसका कृष्णव्रत सिंहलाई दुई हजार ८ सय ७० मतले हराउँदै मेयर बनेका थिए । जितपुरसीमरामा माओवादीको पनि राम्रो पकड भएको मानिन्छ । गठबन्धनको मत बलियो भएकाले एमालेलाई यसपटक हराउन सक्ने सम्भावना बढी छ । एमालेलाई भने आफ्नो जित कायम राख्न नयाँ मतदातालाई आफ्नो पक्षमा तान्नुपर्ने हुन्छ । आयोगको तथ्यांकअनुसार यस उपमहानगरमा ७० हजार ६४ मतदाता छन् । १३ हजार ४ सय २ जना नयाँ थपिएका मतदाता हुन् । 

जनकपुरमा गठबन्धनलाई बागीको चुनौती

जनकपुर उपमहानगरको मेयर पदका लागि गठबन्धनले जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाएको छ । उपमेयरमा कांग्रेसका किशोरी साहलाई उठाएको छ । त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपाले मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा निवर्तमान उपमेयर रीताकुमारी मिश्रलाई उठाएको छ ।

एमालेले शिवशंकर साहलाई मेयरमा र रुना झालाई उपमेयरको उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा जनकपुरधाम उपमहानगरमा तत्कालीन राष्ट्रिय जनता पार्टीले जितेको थियो । राजपाका उम्मेदवार लालकिशोर साहले  २१ हजार ९ सय ३ मत पाएका थिए । उनले साढे १० हजारभन्दा धेरै मतले कांग्रेसका मनोज साहलाई जितेका थिए । कांग्रेसका मनोज साह सुडीले ११ हजार १ यस ६४ मत पाएका थिए ।  

एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५, तत्कालीन संघीय समाजवादी फोरमका विष्णुदेव शाहले ३ हजार ६१२ र नेकपा माओवादीका चन्द्रशेखर साहले २ हजार १२८ मत पाएका थिए । अघिल्लो निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने अहिले गठबन्धनलाई जित निकाल्न सहज देखिन्छ । तर, गठबन्धनको विवादका कारण एमालेले फाइदा हुन सक्ने अनुमान पनि गरिएको छ । 

कांग्रेसका जनकपुरधाम उपमहानगर कमिटीका अध्यक्ष मनोज साहले नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x