राजनीति

दाहाललाई ठाकुरको जवाफ : तपाइँको पीडा सत्ताको, मेरो अर्कै

सुनीता साखकर्मी |
चैत १५, २०७७ आइतबार ९:४८ बजे

काठमाडौँ : केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरको चर्चा चुलिएको छ । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री आफुहरूको मागप्रति सकारात्मक रहेको ठाकुरले बताएपछि ओली सरकारमा जसपाको समर्थन गएको अड्कलबाजी भइरहेका थिए ।
 
नेपाल प्रज्ञा प्रतिष्ठानको डबली बृहत नागरिक आन्दोलनले गरेको सभामा ठाकुरमाथि प्रश्‍न ओइरियो । सुरुमा कार्यक्रमका सहकर्ता प्राध्यापक कृष्ण खनालले प्रश्‍न तेर्स्याए । उनले ठाकुरलाई सोधे, ‘वालुवाटारमा निकै छलफल हुन्छ रे । के अहिले बालुवाटारबाट तपाइँहरूको माग माग पुरा होला ? अब ओलीकै राज सम्भव छ ? के गर्छ जसपाले ?’
  
खनालको प्रश्‍नको जवाफमा ठाकुरले ओली सरकारलाई समर्थन नगरिसकेको प्रष्ट पारे । उनले भने, ‘अहिलेको परिस्थिती उहाँहरूको आपसी बिग्रहको कारणले भएको हो । पार्टी भित्रको लडाइँमा हामीले के गर्ने भन्ने ? सेटल त उहाँहरूले गर्नुपर्ने हो ।’ 

ठाकुर समूहले लामो समयदेखि मधेश आन्दोलन, थरुहट आन्दोलनमा पक्राउ परेकाहरूको रिहाइ र उनीहरूको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । यी मागबारे ओली बाहेक सबै प्रधानमन्त्रीसँग लिखित तीन बुँदे सम्झौता भएको पनि ठाकुरले बताए । ओलीसँग लिखित सम्झौता पनि नगरेको र समर्थन गर्ने कुनै वचन पनि नदिएको उनले प्रष्ट पारे । 


आफुहरूको मुद्दामा प्रधानमन्त्रीले ‘गर्नसक्ने जति गर्छु’ भनेको समेत उनले बताए । त्यसपछि मात्रै कता जाने हो, के गर्ने भनेर निर्क्यौल हुने उल्लेख गर्दै उनले भने, ‘अहिलेका सबै नेताहरू हतियार उठाएर वा शान्तिपूर्ण आन्दोलनबाटै आए । सबैले मुक्ति पाए । सबैले गंगा नुहाएर पवित्र भएछ । अपवित्रमा त हामी थारु मधेशीहरू परेका छौँ । कुनै सुनुवाई छैन । हाम्रा सांसदहरू जेलमा छन्, प्रदेशका मन्त्रीहरू तारिख खेपीरहेका छन् । अरु नौजवान जेलमा छन् , मेयरहरूमाथि मुद्दा छ । अनि सबै नेतामाथि मुद्दा छ । यदि आन्दोलनले आह्वान गरेको एउटा म बाँचेको छु । आह्वान त हामीले नै गरेको, हामीमाथि पनि मुद्दा चलाए हुन्छ । तर हामीलाई छोडिदिएको छ, हाम्रा साथीहरूलाई जेलमा राखिदिएको छ । हामी त न्यायको खोजीमा छौँ, तपाइँहरूसँग पनि, उहाँहरूसँग पनि । के गर्नुहुन्छ । त्यसपछि न हाम्रो समर्थन र विरोधको कुरा आउँछ ।’ 

थारु भएको हुनाले र मधेशी भएकोले पीडा भोगिरहनुपरेको समेत उनले बताए । त्यस्तै अहिले कम्युनिस्ट पार्टीभित्र स्वार्थको लडाई भइरहेको सुनाउँदै ठाकुरले दाहाललाई पनि आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव लिएर जान सुझाए ।

ठाकुरले अविस्वासको प्रस्तावको कुरा छेडेपछि खनालले उनको कुरालाई पुरानो भइसकेको विषय भन्दै तीन पार्टी नमिली बहुमत मिल्दैन भन्‍ने कुरा उप्काए । खनालले भने, ‘जसपा, माओवादी केन्द्र, काँग्रेस, हलो जसले अड्काए पनि हुन्छ । त्यो हलो अड्काउने, त्यसलाई जोडबल दिएर अगाडि बढाउने जिम्मेवारी संसदमा पुगेको दलको हिसाबमा जसपाको पनि हो भन्छौँ ।’

खनालको कुरा सुनेपछि ठाकुरले तत्काल भने, ‘हो देशमा जब संकट आएको बेला हाम्रो जरुरत पर्छ । अहिले संकट छ, त्यसपछि हाम्रो जरुरत पर्छ । अरुबेलामा हाम्रो जरुरत पर्दैन । ठाकुरले आफुहरू पीडित रहेको बताएपछि दाहालले सुरुमा त जनयुद्ध, त्यसमा मधेशसको बलिदानी देखि कसरी एकपछि अर्को दुरगामी ऐतिहासिक निर्णय गर्दै नेपालको राजनीतिक मानचित्रमा फेरबदल ल्याएको र केपी ओलीको गलत प्रवृतिको विरुद्ध पार्टीभित्र आफैले पहिले विद्रोहको झण्डा उठाएको सुनाए । 

त्यसपछि दाहालले ठाकुरलाई लक्षित गर्दै भने, ‘तपाई मात्रै पीडित हो र , मेरो टाउकोमा मुद्दा छैनन् ? अब पीडित पीडित मिल्ने हो  र मोर्चा बनाएर लड्ने हो । नेपाली कांग्रेस र जसपा सँग समझदारी गरी केपीको प्रतिगमनकारी प्रवृतिलाई परास्त गरौँ । संसदभित्रै लागौँ ।’
 
दाहालको प्रस्ताव सुनिसकेपछि ठाकुर बोले । उनले भने, ‘तपाई पीडित भएर पनि कुर्सीमा, माथिल्लो पदमा हुनुहुन्छ । तपाईंको पीडा र हाम्रो पीडा अलग अलग छ । तपाईंको पीडा सत्ताको लागि हुनसक्छ । हाम्रो त्यो छैन ।’
 
जुन समयमा आवश्यकता थियो, त्यसबेला साथ दिएको उल्लेख गर्दै दाहाल आफैले केपी ओलीलाई सबैभन्दा बढी समर्थन गरिरहेको दावी गरे । भने, ‘अहिले त तपाईं आफै अलमलमा पर्नुहुन्छ । सबैभन्दा बढी समर्थन तपाईंले गरिरहनुभएको छ । अनि आरोप हाम्रो माथि । हामीले के गरेका छौँ र । सरकारमा ओली हुनुहुन्छ । आफ्नो समस्या कसलाई भन्न जाने । जेलमा भएको साथीको, विभेदको कुरा कहाँ उठाउने ? सदन, सडकमा उठाएको हुँ । आफै हेर्नुहोस् हाम्रो मुद्दा कहाँसम्म सम्बोधन भएको छ ? भएको छैन । त्यसैले तपाईंको पीडा र हाम्रो पीडा अलग अलग छ । तपाईंको पीडा सत्ताको लागि हुनसक्छ । हाम्रो त्यो छैन ।’
 
ठाकुरले पटकपटक समर्थन गरेको छैन भन्दा पनि कसैले उनको कुराको विश्वास गरेका थिएनन् । त्यसैले कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि सोधिहाले, ‘ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?’
 
त्यसपछि ठाकुरले ओलीले बारबार सरकारमा आउनुस् भनेको तर आफु नगएको सुनाए । ‘अहिले काम ओलीको हातमा छ । हामी स्टेजमा उपस्थित भएकाहरू(दाहाल, माधव कुमार नेपाल र मिनेन्द्र रिजाल) निर्णय गर्ने अवस्थामा छैन । ओलीले गर्छु भन्नु भएको छ । हामीले तपाईं गर्न सक्छु भनेर गरेर देखाइदिनुहोस् भनेका छौँ । हामीले समर्थन अहिलेसम्म गरेको छैन, ’ उनले भने, ‘हामी वास्तविक कुरा चाहन्छौँ । ओली घण्टौँ १४ वर्ष जेलजीवनको कथा सुनाउनुहुन्छ । हाम्रा साथीहरूले पनि प्रजातन्त्रको लागि संघर्ष गर्‍यो, ‘बेटर लाइफ’को लागि । तर जेल के ‘बेटर लाइफ’ हो ? यदि हो भने जाउँ हामी सबै जेलमै ।’
 
कार्यक्रममै वक्ताका रुपमा आएका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रष्टसँग कांग्रेसको सभापतिले नै अविश्वास प्रस्तावलाई थन्क्याइदिए पनि कांग्रेसले यो केपी ओलीको सरकारलाई विश्वासको मत नदिन खुलस्त बताए । तर ठाकुरले त्यस्तो कुनै कुरा खुलासा गरेनन् । ठाकुर आफ्नो कुरामा अडिग रहेपछि दाहालले अन्तिम अस्त्र ठाकुरतर्फ छोडे । 

उनले ठाकुरलाई भने, ‘ मधेसको मागबारे दुईपटक संसदमा संशोधन प्रस्ताव हालेको , पास हुन नदिने केपी ओली हो । मधेशको अधिकार र पहिचानविरोधी प्रवृतिको रुपमा नेपालमा केपी ओली प्रवृति स्थापित छ । तपाईंले राम्रो चिन्नु भएको छ । तपाईं नै सरकार बनेर हल गरौँ न भन्ने मात्रै हो । आजको भोली एक हप्ताभित्र हाम्रो सरकार बन्छ । तपाईं हामी मिलेर गरौँ, किन ओली कहाँ धाउनुहुन्छ ?’ यसबारे ठाकुरले कुनै प्रतिक्रिया दिएनन् । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x