कोशी

प्रदेश १ मा आइतबार एकैदिन ७४ जनामा कोभिड पुष्टि

बिना काम नहिड्न र भिडभाड नगर्न महानगरको आग्रह

बाबुराम भण्डारी |
साउन १, २०७९ आइतबार १५:३७ बजे

 विराटनगर । प्रदेश १ मा कोभिड १९ को संक्रमण ह्वात्तै बढेको छ । आइतबार एकैदिन ७४ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ को स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको दैनिक संक्रमणको प्रतिवेदन अनुसार मोरङको विराटनगरमा मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

कुल २६१ वटा स्वाबको नमूना संकलन गरी परीक्षण गरिएकोमा प्रदेश १ मा १२ महिला र ६२ पुरुष गरी ७४ जनामा कोभिड १९ को संक्रमण देखिएको मन्त्रालयकी विशेषज्ञ चिकित्सक डा.संगिता राईले बताइन् । विराटनगरमा मात्रै ३ महिला र ४१ पुरुष संक्रमित भएका छन् । उनीहरु मध्ये अधिकांश मोरङ कारागारका कैदीबन्दी हुन् ।


त्यसैगरी बुढीगंगा गाउँपालिकाका ४ जना र उर्लाबारी नगरपालिकामा एक जनामा संक्रमण देखिएको जनाइएको छ । झापाको भद्रपुर, विर्तामोड, मेचीनगर र बद्धशान्तिमा एक÷एक जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । विराटनगरको न्यूरो अस्पतालको प्रयोगशालामा सवैभन्दा बढि १३९ वटा स्वाबको नमूना परीक्षण गरिएकोमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालमा कार्यरत केही चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ६५ वटा स्वाब नमूना परीक्षण गरेको छ । जहाँ ४१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले उल्लेख गरेको छ । हिजो असार ३२ गते शनिबार १७ वटा स्वाब नमूना परीक्षणगर्दा ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैगरी ३१ गते ३५ वटा नमूना परीक्षण हुँदा १७ र एन्टिजेनतर्फ २९ जनाको रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

असार २६ गतेसम्म प्रदेश १ मा कोभिड संक्रमितको संख्या प्रायः एकजना तथा त्यसअघिका दिनमा शुन्य रहेको थियो । प्रदेश १ मा कोभिड १९ बाट हालसम्म १ लाख २१ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ लाख १८ हजार ९९१ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी ७८१ महिला र १ हजार ४८० पुरुष गरी २ हजार २६१ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश १ मा आइतबारसम्म सक्रिय संक्रमितको संख्या १३५ रहेको जनाइएको छ । यसैबीच विराटनगर महानगरपालिकाले महानगरमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको भन्दै अत्यावश्यक नभई घर बाहिर नजान, अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी काम गर्न तथा मास्कको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखाका अनुसार महानगरभित्र जनस्वास्थ्यका सवै मापदण्डहरु पालना गर्न आग्रह गरिएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x