कोशी

विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियू निर्वाचन अन्याेलमा

इकागज |
चैत ३, २०७९ शुक्रबार १९:१२ बजे

विराटनगर । विराटनगरको नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि स्ववियू निर्वाचन अन्याेलमा परेको छ । शुक्रबार क्याम्पसमा पुगेका नेविसंघ विराटनगर महानगर समितिका सभापति सरोज पोखरेलसहितको समूहले क्याम्पसको स्ववियू निर्वाचन समितिको कार्यालय, क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

नेविसंघले विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट वञ्चित हुने गरी क्याम्पस प्रशासनले नै विद्यार्थीहरूलाई टेलिफोन गरेर प्रलोभनमा पारेको आरोप लगाएको छ । तालाबन्दीपछि क्याम्पसको गेटमा टाँसिएको नेविसंघको विज्ञप्तिमा ‘विद्यार्थीहरूले आफूले चाहेको विद्यार्थी संगठन रोज्न पाउनु स्वतन्त्र अधिकार हो भन्ने हेक्का नराखी डर, त्रास, धम्की, लोभ देखाई नेपाल विद्यार्थी संघका विद्यार्थीहरूलाई हतोत्साहित गर्ने कार्यको मूकदर्शक हाम्रो संगठन हुन सक्दैन’ भन्दै आरोप लगाइएको छ । 
त्यस्तै क्याम्पस प्रमुख, पदाधिकारी, केही शिक्षक तथा स्वयम् निर्वाचन समितिको अध्यक्षको संग्लनतामा चुनावलाई एकतर्फी बनाउन खोजेको भन्दै हालको निर्वाचन समिति भंग गरी निष्पक्ष निर्वाचन समिति निर्माण गर्नसमेत आग्रह गरिएको छ ।


स्ववियूको मनोनयनपछि उम्मेदवारी पत्र रुजू गर्ने क्रममा प्रस्तावक र समर्थकहरूको नाममा निर्वाचन समितिले ‘टिक’ लगाएपछि नेविसंघले निर्वाचन समितिले धाँधली गर्न खोजेको आरोप लगाउँदै विरोध जनाएको थियो । त्यसपछि क्याम्पसभित्र क्रियाशील रहेका प्रमुख विद्यार्थी संगठनहरू अनेरास्ववियु र नेविसंघका इकाई सभापतिहरूसहितको बैठकले उक्त बिषयमा सहमति जनाएपछि निर्वाचनको प्रक्रिया अघि बढेको थियो । तर शुक्रबार एक्कासी क्याम्पस बाहिरका व्यक्तिहरू आएर क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

निर्वाचन समितिका संयोजक योगेन्द्र मेहताले हुलहुज्जत गर्दै प्रवेश गरेको समूहले आफूसहित क्याम्पसका शिक्षक, कर्मचारीहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको बताए । उनले नेविसंघकै क्याम्पस इकाई सभापतिसहित विद्यार्थी नेताहरूलाई राखेर गरिएको सहमति विपरीत क्याम्पस बाहिरका व्यक्तिहरू बोलाएर क्याम्पसको शैक्षिक वातावरण नै बिगार्न खोजेको आरोप लगाए । क्याम्पसभित्रै छात्राबास समेत रहेका कारण क्याम्पसको शैक्षिक वातावरण प्रभावित पार्ने उदेश्यले घटना गराइएको क्याम्पस प्रशासनको आरोप छ ।

अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले स्ववियु निर्वाचनको मुखमा कुनै कारण देखाएर क्याम्पसमै तालाबन्दी हुनु दुखद् भएको भन्दै तत्काल ताला खोली निर्वाचनको वातावरण बनाउन नेविसंघलाई आग्रह गरिएको बताए ।

‘निर्वाचनको प्रक्रिया अघि बढाउने विषयमा कुनै समस्या देखिएको अवस्थामा विद्यार्थी संगठनहरू सवै बसेर सहमति गरेर अघि बढेको अवस्थामा अचानक क्याम्पसमा तालाबन्दी गरिएको घटना निकै दुखद् छ’ उनले भने, ‘नर्सिङ क्याम्पसमा कुनैपनि हालतमा चुनाव हुनुपर्छ, कसैले पनि चुनाव रोक्न पाइदैन, तत्काल ताला खोलेर अनिवार्य रुपमा चुनाव गराउन नेविसंघले पहल गर्नुपर्छ ।’

विराटनगर नर्सिङ क्याम्पसमा अनेरास्ववियुबाट प्रशंसा पौडेल र नेविसंघकी स्मारिका बराल प्यानलै चुनाव लड्ने तयारीमा छन् । क्याम्पसमा यसअघि भएका छलफलहरूलाई विद्यार्थीमैत्री बनाउन भन्दै उनीहरूले आफ्नै विद्यार्थी संगठनका थोरै प्रतिनिधिलाई मात्रै राखेर बैठक गर्न आग्रह गर्दै आएका थिए । 
नर्सिङ क्याम्पसमा १८४ जना मतदाता विद्यार्थीहरू रहेको जनाइएको छ ।


Author

थप समाचार
x