कोशी

उद्योगी व्यवसायीले गरे कोशी नामकरणको स्वागत

इकागज |
बैशाख १२, २०८० मंगलबार २०:३३ बजे

तस्बिर : मंगलबार मुख्यमन्त्री कार्कीसँग छलफल गर्दै कोशी प्रदेशका उद्योगी व्यवसायीहरू ।

विराटनगर- पूर्वका प्रमुख उद्योगी व्यवसायी संघसंगठनहरूले कोशी प्रदेश नामकरणको स्वागत गरेका छन् । मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशले नाम पाएको भन्दै स्वागत गरेका हुन् ।

संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश अध्यक्ष भीम घिमिरे र संगठनका अध्यक्ष सुयश प्याकुरेलले विगत केही दिनदेखि प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न चरणमा विभिन्न स्थानमा आन्दोलन भइरहँदा शान्तिपूर्ण वातावरणमा उद्योग/व्यवसाय/पेशा सञ्चालन गरी जीविकोपार्जन गर्न चाहने मानिसको दैनिकीमा नकारात्मक प्रभाव परेको भन्दै आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।


विज्ञप्तिमा उद्योगी व्यवसायीहरूले प्रदेश सभाको दोस्राे निर्वाचनपश्चात बहुसंख्यक राजनीतिक दलहरूको साझा सहमतिमा दुई तिहाईभन्दा अत्यधिक प्रदेश सभा सदस्यको ९१ प्रतिशत बहुमतले कोशी प्रदेश नामकरण गर्न सफल भएको भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद समेत दिएका छन् ।

उनीहरूले लामो समयको राजनीतिक अन्यौलतालाई समाप्त पार्दै संविधानको व्यवस्था अनुरूप पहिलो निर्वाचनबाट अन्य प्रदेशले नामकरण गर्न सफल भएतापनि प्रदेश नं. १ असफल भएको अवस्थालाई अन्त्य गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्था तथा निर्धारित विधिविधान बमोजिम नै सार्वभौम प्रदेश संसदले गरेको प्रदेशको नामकरणका सम्बन्धमा चित्त नबुझेमा रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्बन्धित पक्षसमक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्नसमेत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’

बुधबार नै मुख्यमन्त्री कार्कीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गर्दै कोशी प्रदेश नामकरणपछि पहिचानवादी पक्षधरले हिंसात्मक प्रदर्शन, अमर्यादित गालीगलौज र दुर्व्यवहार गर्न थालेको गुनासो गरेका थिए । उनले प्रदेशकै राजधानी रहेको विराटनगरमा नामकरणको विरोधमा उग्र प्रदर्शन हुन थालेको भन्दै उद्योगी व्यवसायीहरूले पनि आफ्ना धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

उग्र प्रदर्शनका कारण विराटनगरको बसपार्कदेखि रोडशेष चोकसम्मको अवस्था अशान्त बन्दै आएको छ । प्रहरी र प्रदर्शनकारीहरू बीचको झडपले त्यस क्षेत्रमा व्यवसायीहरू समेत प्रभावित बन्दै आएका छन् ।

प्रदर्शनकारीहरूले आन्दोलनलाई हिंसात्मक बनाउँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सूचनामार्फत हिंसात्मक गतिविधि नगर्न चेतावनी समेत दिइसकेको छ । तर, पहिचान पक्षधरहरूले भने कोशी प्रदेश खारेज नहुन्जेल आन्दोलन नरोकिने घोषणा गरेका छन् ।

गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने दुई तिहाई मतबाट निर्णय गरेको थियो । त्यसको ५६औं दिनमा उद्योगी व्यवसायीहरूले नामकरण स्वागत योग्य भएको बताएका हुन् ।


Author

थप समाचार
x