कोशी

एमाले नेतृत्वको कोशी सरकारबाट बाहिरियो जसपा, मन्त्री निर्मला लिम्बुले दिइन् राजीनामा

बाबुराम भण्डारी |
जेठ १७, २०८० बुधबार १८:२४ बजे

विराटनगर- नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी औपचारिक रूपमा बाहिरिएको छ । जसपाबाट स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बुले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिने हुन् । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताइन् ।

जसपाको प्रदेश समितिको बुधबार बसेको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि मन्त्री लिम्बुलाई जानकारी समेत गराइएको जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले बताएका थिए ।


पत्रकार सम्मेलनमा मन्त्री लिम्बुले पार्टीको निर्देशन बमोजिम मन्त्री पदबाट राजीनामा दिएको बताइन् ।

पार्टीको निर्णय बमोजिम मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइएको मन्त्री लिम्बुले उल्लेख गरिन् । साथै उनले पार्टीभित्रबाट पनि आफूमाथि षड्यन्त्रपूर्वक निरन्तर प्रहार भएको गुनासो समेत गरिन् । लिम्बु २०७९ पुष २५ मा कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन् ।

कोशी प्रदेश सभामा जसपासँग एक सिट रहेको छ । मुख्यमन्त्री कार्की जसपाको त्यही एक सिटसहित माओवादी केन्द्रको १३ र राप्रपाको ६ सिटसहित ६० सिटको बहुमत सरकार चलाइरहेका थिए ।

सरकारबाट जसपा बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णयसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा माओवादी, राप्रपा र एमाले मिल्दा पनि सरकार भने बहुमतमै रहने छ । तर, १० दलीय केन्द्रीय गठबन्धनभित्रको तीव्र दबाबले माआवादीले पनि तत्कालै सरकार छाड्ने वा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसम्म पर्खिने भन्ने विषयमा निर्णय भइसकेको छैन ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x