कोशी

कोशी प्रदेशमा सरकार छाड्नेबारे माओवादीभित्र मतभेद

राप्रपाले मुख्यमन्त्री दाबी गरेपछि संकट

बाबुराम भण्डारी |
जेठ २२, २०८० सोमबार १९:२८ बजे

विराटनगर- मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेशमा सरकार छाड्ने विषयमा नेकपा माओवादी केन्द्रको संसदीय दलभित्र मतभेद देखिएको छ । उपलब्ध सांसदहरूको उपस्थितिमा सोमबार संसदीय दलको कार्यालयमा बसेको बैठकमा सरकार छाड्ने विषयमा निर्णय हुन सकेन ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चार वर्षका लागि मुख्यमन्त्रीको दाबी गरिरहेको छ । तर, राप्रपालाई मुख्यमन्त्री दिने विषयमा माओवादी निर्णयमा पुग्न सकेन । राप्रपालाई मुख्यमन्त्री दिनुभन्दा एमाले नेतृत्वको वर्तमान सरकारमा बस्नु उचित हुने विषयले बैठकमा प्रवेश पाएपछि बैठक ठोस निष्कर्षविनै सकिएको हो ।


माओवादी संसदीय दलका प्रमुख सचेतक गणेश उप्रेतिले बैठकमा ठोस निर्णय नभएको बताए । उनले माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्ने पुरानै अडान दलभित्र कायम रहेको जानकारी दिए । उप्रेतिका अनुसार वर्तमान छाड्ने कि समर्थन कायमै राख्ने भन्ने विषयमा प्रदेश तहका नेताहरूसँग थप छलफल गरेर मात्रै निर्णय पुग्ने बताए ।

'भोलि प्रदेशका पनि नेताहरूसँग बसेर समर्थन फिर्ता लिने नलिने विषयमा निर्णयमा पुगिने छ,' उनले भने, 'त्यो बैठकबाट मात्रै निर्णय गरिने भएको छ, दलको नेताको संयोजकत्वमा नयाँ सरकार गठनका लागि निम्ति पहलका निम्ति बनाउने निर्णय भएको छ ।'

उनले दलभित्र महत्वपूर्ण निर्णय गर्दा विगतमा पनि कमीकमजोरी भएको स्वीकार गरे । खासगरी नामकरणको विषयमा दलभित्र परिपक्क छलफल नभएको विषयमा बैठकमा छलफल भएको संकेत गरे ।

'सरकार छाड्ने नछाड्ने भन्ने कुरा भोलि प्रदेशका नेताहरूसँग बसेर मात्रै निर्णय हुन्छ,' उनको भनाइ थियो, 'नामका विषयमा केही विवादहरू, यसपालि अलिक म्याचुबई निर्णय गर्नेछौँ, हामीले अझै परिपक्क बनाउन खोजेका छौँ ।'

जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार काकी नेतृत्वको कोशी प्रदेश सरकार छाडेपछि माओवादी नैतिक दबाबमा परेको छ । मुख्यमन्त्री कार्कीले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी अघि बढाएका छन् । कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका दुर्गाप्रसाद चापागाईँ र जीवन आचार्य मन्त्री रहेका छन् ।

माओवादीले तत्कालै सरकारबाट समर्थन फिर्ता लिएको खण्डमा नीति तथा कार्यक्रम र असार १ मा आउने बजेट पारित गरेर अघि बढ्न मुख्यमन्त्री कार्कीलाई कठिन हुनेछ । माओवादी स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार भारत भ्रमणबाट फिर्ता भए लगत्तै कोशी प्रदेश सरकारमा माओवादीको अवस्थाबारे पार्टीभित्र छलफल गरेको स्रोतले जनाएको छ । माओवादीभित्र राप्रपालाई मुख्यमन्त्री दिएर भएपनि कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने विषयमा समेत
छलफल भएको जनाइएको छ । तर, राप्रपालाई मुख्यमन्त्री दिएर जाँदा पार्टीभित्र झन ठूलो बहस सुरु हुने भएपछि सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउनतिर लाग्ने सोमबारको प्रदेश संसदीय दलको बैठकमा गर्मागर्मी छलफल भएको जनाइएको छ ।

कार्की नेतृत्वको वर्तमान सरकारलाई एमालेबाट ४०, माओवादी केन्द्र सभामुखसहित १३ र राप्रपाको ६ सहित ६९ सांसदको समर्थन छ । माओवादी सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री कार्की राप्रपासहित ४६ सिटमा खुम्चिने छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४७ सांसदको समर्थन आवश्यक हुन्छ । नयाँ सरकार बन्ने र बनाउने खाका स्पष्ट गर्न नसक्दा माओवादीभित्र अलमल र अन्यौलता बढेको हो ।

सरकारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुर्गाप्रसाद चापागाईँ रहेका छन् । उनीहरू दुवै तत्कालै सरकार छाड्न तयार छैनन् ।

१० दलीय केन्द्रीय गठबन्धन विपरीत कोशी प्रदेश सरकारमा माओवादी बसिरहेको भन्दै नेपाली कांग्रेसले भने सदनभित्र र बाहिरबाटै माओवादीमाथि ठाडो प्रश्न गरिरहेको छ । त्यसैगरी कोशी प्रदेश नामकरणपछि जातीय पहिचान पक्षधर समूहहरूको निसानामा परेको माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ता सडकमा उत्रिँदा माओवादीका नेताहरूलाई नै जवाफ दिन संकट पर्दै आएको छ ।

नामकरणपछि पहिचानको मुद्दामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभन्दा पछि परेको भन्दै माओवादीभित्र आलोचना भइरहेको छ । आलोचनाबाट जोगिनकै लागि बिहीबारको प्रदेश सभा बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक गणेश उप्रेतिले प्रदेश सभा नियमावलीको
अन्तिम मस्यौदामाथिको छलफलका क्रममा अघिल्लो नियमावलीमा उल्लेखित प्रदेश नामकरणको व्यवस्था कायमै राख्नुपर्ने भन्दै फेस सेभिङ गरेका थिए । यही बीचमा सरकार फेर्ने खाका स्पष्ट गर्न नसकेपछि माओवादीलाई निर्णयमा पुग्न थप अन्योल भएको हो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x