कोशी

सरकारबारे निर्णय लिन माओवादीका प्रदेश पदाधिकारीसहितको बैठक जारी

इकागज |
जेठ २३, २०८० मंगलबार १०:२१ बजे

विराटनगर । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा दुई मन्त्रीसहित सहभागी भएको नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रम र बजेटसम्म सरकारमै रहने कि तत्कालै बाहिरिने भन्ने विषयमा निर्णय निर्णय प्रदेश पदाधिकारीसहितको बैठक बसिरहेको छ ।

सोमबार माओवादी संसदीय दलको उपलब्ध सदस्यहरुबीचको छलफल निष्कर्षमा पुग्न नसकेपछि प्रदेश कमिटीका पदाधिकारीसहित मंगलबार बिहान ८ बजे पार्टी पदाधिकारीसहित पुनः बैठक बोलाएको थियो ।


हिजोको बैठकमा माओवादी केन्द्रकै नेतृत्वमा सरकार गठन गर्ने मुख्य विषयमा छलफल भएको प्रदेश सभा सदस्य गणेश उप्रेतिले जानकारी दिएका थिए । उनले तत्कालै समर्थन फिर्ता लिने नलिने विषयमा भने पार्टीको प्रदेश कमिटीका पदाधिकारीहरुसँग समेत छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए । 

माओवादीले आफ्नै नेतृत्वको सरकार गठनको पहल गरेपनि कोशी प्रदेशमा अर्को सरकार गठनका लागि सुरक्षित अंक गणित तयार छैन । त्यसका लागि ६ सिटको राप्रपालाई एमाले नेतृत्वको सरकारबाट छुटाउनै पर्ने बाध्यात्मक अवस्था छ । तर मन्त्रीमात्रै बन्नका लागि सरकार फेर्दै हिंड्न नहुने भन्दै राप्रपाले आगामी चार वर्षका लागि मुख्यमन्त्री दिनुपर्ने शर्त अघि सारेका कारण माओवादी सरकारबाट हट्ने निर्णयमा पुग्न नसकेको हो ।

केन्द्रीय गठबन्धन अनुसार नै कोशीमा सरकार गठन हुनुपर्ने बिषयमा कांग्रेसले दवाव दिइरहेको बेलामा भावी सरकारको खाका तयार नभएको भन्दै माओवादी अहिलेसम्म पनि एमाले नेतृत्वकै सरकारमा छ । 

यता मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने गरी तयारी अघि बढाइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तर त्यसअघि नै सत्ता साझेदार दल माओवादी केन्द्रले सरकार छाडे के गर्ने भन्ने विषयमा मुख्यमन्त्री कार्की पनि आन्तरिक परामर्शमा बस्दै आएका छन् ।


Author

थप समाचार
x