कोशी

फालेलुङ गाउँपालिकाले तोक्यो शिक्षक सरुवाको सहमति लिँदा १५ हजारसम्म दस्तुर

बाबुराम भण्डारी |
असार १२, २०८० मंगलबार २१:५२ बजे

विराटनगर- पाँचथरको फालेलुङ गाउँपालिकाले गाउँपालिकामा कार्यरत शिक्षकहरूको सरुवाको सहमति दिँदा १५ हजार रुपैयाँसम्म लिने गरी चर्को दस्तुर तोकेको छ ।

असार १० गते सम्पन्न गाउँ सभा तथा सातौं अधिवेशनबाट पारित भएर पालिकाको राजपत्रमा समेत प्रकाशित भइसकेको फालेलुङ गाउँपालिकाको आर्थिक ऐन २०८० मा माध्यमिक तहको शिक्षकले जिल्लाबाहिर सरुवा भएर जानुपरेमा १५ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । 


गाउँपालिकाभित्र कार्यरत माध्यमिक शिक्षकले पाँच वर्षको सेवा अवधिभित्रै जिल्लाबाहिर सरुवा भएर गएमा १५ हजार र पाँच वर्षभन्दा बढी सेवा गरेर सरुवा हुँदा १० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको हो ।

गाउँपालिकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा कार्यरत शिक्षकहरूलाई सरुवा भएर जानुपर्दा वा पालिकाभित्रै अर्को विद्यालयमा सरुवा हुँदा समेत यस्तो शुल्क लाग्ने गरी १८ वटा शीर्षकमा दस्तुर असुल गर्ने निर्णय गरेको हो ।

मावि शिक्षकले पालिकाको विद्यालयमा काम गरेको पाँच वर्षभन्दा कम अवधिमा जिल्लाभित्रै सरुवा हुनुपरे १२ हजार, पाँच वर्ष बढी काम गरेर सरुवा हुनुपरे १० हजार, पाँच वर्षभन्दा कम अवधिमा पालिकाभित्र सरुवा हुनुपरे १० हजार, पाँच वर्ष बढी काम गरेर सरुवा हुनुपरे ८ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी निमावि तहका शिक्षकले गाउँपालिकाभित्र पाँच वर्षभन्दा बढी काम गरेर सरुवा हुन खोजे ५ हजार र पाँच वर्षभन्दा कम अवधि काम गरेर जान खोजे ८ हजार रुपैयाँ सरुवा सहमतिवापत तिर्नुपर्ने भएको छ ।

निमावि तहकै शिक्षकले जिल्लाभित्र पाँच वर्षभन्दा बढी काम गरेर सरुवा हुन ८ हजार र पाँच वर्षभन्दा कम अवधि काम गरेर जान खोजे १० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको हो । निमावि तहका शिक्षकले जिल्ला बाहिर पाँच वर्षभन्दा बढी काम गरेर सरुवा हुन १० हजार र पाँच वर्षभन्दा कम अवधि काम गरेर जान खोजे १२ हजार तिर्नुपर्ने भएको छ ।

प्राथमिक तहका शिक्षकले गाउँपालिकाभित्र सरुवा भएर जान सहमति लिनुपरे पाँच वर्षभन्दा कम अवधिको सेवामा ३ हजार र पाँच वर्ष बढीको सेवामा ५ हजार रुपैयाँ सरुवा सहमति दस्तुर तिर्नुपर्ने छ । प्राविकै शिक्षकले जिल्लाभित्र सरुवा भएर जान सहमति लिँदा पाँच वर्ष बढी सेवा गरेको भए ५ हजार र पाँच वर्ष कम सेवा गरेको भए ८ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्ने आर्थिक ऐनमा उल्लेख छ ।

त्यसैगरी प्रावि शिक्षकले जिल्ला बाहिर सरुवा सहमति लिनुपर्दा पाँच वर्षभन्दा कम सेवा गरेको भए ८ हजार र पाँच वर्षभन्दा कम सेवा अवधि भए १० हजार रुपैयाँ गाउँपालिकालाई दस्तुर तिर्नुपर्ने निर्णय गरेको जनाइएको छ ।

शिक्षकको सरुवामा गाउँपालिकाले दस्तुर तोक्ने निर्णय गरेको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए । स्थानीय सरकार आफैँ सरकार भएकोले गाउँसभाबाट यस्तो निर्णय गरेको उनले बताए ।

अध्यक्ष थाम्सुहाङले शिक्षकहरूले जागिर बचाउनका लागि मात्रै विद्यालयमा हाजिर हुने, आफ्नो जिम्मेवारी बहन नगर्ने क्रम बढेकोले सरुवालाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको दाबी गरे ।

‘हाम्रो स्थानीय सरकार आफैँ सरकार हो, शिक्षाको क्षेत्रमा नागरिकले पनि समस्या भइरहेको बताएका छन्,’ उनले भने, ‘शिक्षकहरू जागिर बचाउनका लागिमात्रै विद्यालयमा हाजिर हुने गरेका छन्, कतिपय विद्यालयमा त स्थायी भएपछि दादागिरी देखाउने गरेका छन्, राज्यको लगानी बालुवामा पानी बनाएका छन्, शिक्षकले आफ्नो जिम्मेवारी बहन नगरी आएको हप्तादिनभित्रै सरुवा भएर जान खोजेपछि यस्तो निर्णय गरेको हो ।’

यसैबीच गाउँपालिकाले जारी गरेको गाउँ शिक्षा ऐन २०७५ मा भने शिक्षक सरुवा सम्बन्धी कुनै पनि व्यवस्था उल्लेख गरिएको छैन । शिक्षासम्बन्धी अधिकार स्थानीय पालिकालाई भएपनि पालिकाको शिक्षा ऐनमा भने सरुवासम्बन्धी कुनै पनि प्रावधान उल्लेख नभएको जनाइएको छ । सरुवाको प्रावधान नै उल्लेख नगरिएको शिक्षा ऐनको अध्ययन नै नगरी पालिकाले सरुवासम्बन्धी दस्तुर तोकेको शिक्षकहरूले बताए । 

शिक्षकहरूबाट गुनासो आएपछि मात्रै गाउँपालिकाले ऐन पल्टाएको स्वयम् पालिका अध्यक्षको भनाइले पुष्टि गरेको छ । अध्यक्ष थाम्सुहाङले भने, ‘सरुवा सहमतिको दस्तुरको विषयमा शिक्षकहरूबाटै गुनासो आइसकेको छ, शिक्षकको सरुवा गर्ने विषय शिक्षा नियमावलीभित्र छ कि छैन भनेर हाम्रो शिक्षा शाखालाई हेर्न लगाएको छु ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x