कोशी

कोशीमा एक मतले ढल्यो एमाले नेतृत्वको सरकार

कार्कीको पक्षमा ४६ मत, विपक्षमा ४३

बाबुराम भण्डारी |
असार १५, २०८० शुक्रबार १३:५५ बजे

फाइल तस्बिर

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत गुमाएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत छ भनि राखेको प्रस्तावको पक्षमा ४६ मत मात्रै प्राप्त भएको छ । विपक्षमा ४३ मत खसेको हो ।

९३ सदस्यीय कोशी प्रदेशको सभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक थियो । जसपाकी प्रदेश सभा सदस्य निर्मला लिम्बू मत विभाजनको प्रक्रियामा अनुपस्थित भइन ।


सभामुख बाबुराम गौतमले मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभामा विश्वासको मत छ भनि राखेको प्रस्तावमा प्रदेश सभाको सम्पुर्ण सदस्यको बहुमत नभएकोले प्रस्ताव अस्विकार भएको घोषणा गरे ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा नेकपा र राप्रपा सहभागी सरकार ढलेको छ । 

मुख्यमन्त्री कार्की २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भई पुस २५ मा सपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको १७४ दिनमा कार्कीले पद छोड्नु परेको हो ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था अनुसार विश्वासको मत मागेका थिए ।

उपधारा (३) मा उपधारा (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । यही व्यवस्था अनुसार मुख्यमन्त्री कार्की बहुमतबाट चुकेका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x