कोशी

सिमाना विवादमा हर्क र हेमकर्णबीच फेरि वाकयुद्ध

बाबुराम भण्डारी |
असार २०, २०८० बुधबार १०:३२ बजे

विराटनगर- सिमाना सम्बन्धि पुरानै विवादलाई लिएर सुनसरीका दुई उपमहानगरका मेयरबीच वाकयुद्ध सुरु भएको छ । इटहरी उपमहानगरपालिका–२० को पानीपिया कि त्यहाँबाट करीव पाँच किलोमिटर माथि सेउती खोला सीमाना भन्ने विवादले उनीहरु दोस्रो पटक आमनेसामने भएका हुन् ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङले नगर प्रहरी लगाएर पानीपियामा ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ उल्लेखित बोर्ड दोस्रो पटक राखेपछि इटहरीका मेयर हेमकर्ण पौडेलले एक घण्टा पनि नपुग्दै आफ्ना नगर प्रहरी र कर्मचारी खटाएर बोर्ड हटाइदिएका थिए । 


सीमा सम्बन्धि यो विवाद उपमहानगरबिच तत्कालै टुंगोमा पुग्ने छाँटकाँट छैन । विवाद उत्पन्न भएयता उनीहरु औपचारिक संवादमा पनि देखिएका छैनन् । यसअघि गत बैशाख ११ मा पनि धरानका मेयर साम्पाङकै निर्देशनमा पानीपियामा सीमा प्रारम्भको बोर्ड राख्दा एमाले निकट युवा संघ नगर कमिटी इटहरीसम्वद्ध युवाहरुले पहिलो पटक बोर्ड हटाइदिएका थिए । त्यहाँबाट रोपिएको विवादको विउ अहिले दुई पालिकाका मेयरको वाकयुद्धसम्मै आइपुगेको छ । सीमाना विवादमा उनीहरुले सामाजिक सञ्जालमार्फत एकअर्कालाई दोष लगाउँदै आएका छन् । 

इटहरीका मेयर पौडेल पनि त्यसयता सीमाना विवादका बिषयमा गहिरो चासो देखाइरहेका छन् । उनले अघिल्लो पटक उपमहानगरपालिकामै पत्रकार सम्मेलन गरेर धरान र इटहरीको सीमाना सेउती खोला भएको प्रष्टिकरण दिएका थिए ।

अहिले पुनः सीमानाकै बिषयमा दुई मेयर आरोप प्रत्यारोपमा उत्रिएका छन् । साम्पाङले मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशमा पानीपियाबाटै धरानको सीमाना सुरु हुने दाबी गरेका छन् । उनले नापी विभागको नक्साको समेत हवाला दिंदै सत्यतथ्यका आधारमा अघि बढ्न इटहरीका मेयर हेमकर्णलाई चेतावनी दिइसकेका छन् ।

‘धरानको सीमाना सेउति पुलसम्म हो भनेर भन्नु गलत हो, पहिलेको धरानको नेतृत्वले खोजेनन् भन्दैमा मैलेपनि खोज्न हुँदैन भन्न मिल्दैन’ उनले भनेका छन्, ‘क्षेत्राधिकार कहाँ हो भन्ने कुरा बुझेर नै नापी विभागको सुझाव र प्राविधिकहरुको आधारमा त्यहाँ बोर्ड राखेको हो ।’ 

मेयर साम्पाङले आफुले जिल्ला समन्वय समितिमा पत्रचार समेत गरेको र छलफल पनि चाहेको बताए । तर त्यसोगर्दा इटहरीका मेयरले विभिन्न बहाना बनाएर सम्वादमा आउन नचाहेको उनले आरोप लगाएका छन् । ‘अराजक शैलीमा जानु ठिक हुँदैन, मैले छलफलका लागि अनुरोध गरिरहेको छु’ साम्पाङले भनेका छन् ।

यता इटहरीका मेयर पौडेलले एक पटक विवाद उत्पन्न भइसकेर केही सम्वाद समेत अघि बढेको बेलामा धरानका मेयरले एकतर्फी रुपमा पुनः बोर्ड राखेर थप विवादित बनाउन चाहेको आरोप लगाएका छन् । मेयर पौडेलले धरानको सीमाना सेउती खोला नै कायम रहेको दाबी गर्दै सेउतीमा इटहरीले राखेको बोर्ड पनि धरानका मेयरको निर्देशनमा क्षति पु¥याइएको भन्दै आपत्ति जनाएका छन् ।

‘यो बिषयमा नहुनुपर्ने र नउठ्नु पर्ने विवादहरु उठिरहेका छन्, सदियौंदेखि धरान र इटहरीको सौहार्दपूर्ण सम्बन्ध बिगार्ने उदेश्यले यस्ता गतिविधि भएका छन्’ पौडेले भने, ‘फेरि आज धरानका नगर प्रमुखज्यूले इटहरी र धरानबीचको सम्बन्ध बिग्रिने गरी व्यवहार गर्न खोज्नु भएको छ, बर्षौंदेखि उपभोग गरेको भुगोलमा बलजफ्ती ढंगले बोर्ड राख्दा इटहरीका जनताको पनि मन दुखेको छ, कुनैपनि धैर्यता नराखी व्यवहार भएकोमा दुखित छु, कसैलाई हेप्ने र अपमानपूर्ण व्यवहार गर्ने कार्यलाई सच्याउन आग्रह गर्दछु ।’

पौडेलले यसअघि पनि सीमासम्बन्धि विवाद उत्पन्न हुँदा आफुले धरानका मेयरलाई पत्र पठाएर अन्तरपालिकाको विवाद बसेर छलफल गर्न तयार रहेको बताएको दाबी गरे । तर उक्त पत्रको अहिलेसम्म जवाफ प्राप्त भएको उनले गुनासो गरे ।

आपसी सहमति बिना धरानले एकतर्फी रुपमा बोर्ड राखेका कारण इटहरीले पनि गम्भीर रुपमा लिएको बताएका छन् । उनले २०१० सालअघिदेखि नै इटहरी र धरानको सीमाना सेउती पुल भनेर चिनिएको कुरा नबिर्सन चेतावनी समेत दिए ।

दुई पालिकाबीच सीमाना विवाद चर्किएपछि जिल्ला समन्वय समिति सुनसरीले भने बुधबारदेखि समन्वयको काम सुरु गरेको छ । जिसस प्रमुख राजन मेहताले विवादित बिषयमा अध्ययनका लागि बुधबार पहिलो चरणको बैठक बोलाइएको जानकारी दिए ।

‘आज १० बजे हामीले बैठक बोलाएका छौं, पहिले चरणमा नापी र नक्सासहित हामी–हामी मात्रै बस्छौं’ मेहताले भने, ‘स्थानीय प्रशासनसमेतको छलफल सकेरमात्रै दुवै पालिकाका प्रमुखहरुलाई राखेर अर्को छलफलमा बोलाउँछौं ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x