कोशी

कोशीमा अध्यक्षता गर्ने व्यक्ति नै नभएपछि कार्यव्यवस्थाको बैठक स्थगित

मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची पनि अनिश्चित

बाबुराम भण्डारी |
भदौ ४, २०८० सोमबार ११:३८ बजे

विराटनगर- कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार सोमबार बिहानै काठमाडौँ उडेपछि उनैले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निश्कर्ष टुंगिएको छ । बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै नभएको भन्दै दिउँसो १ बजे कार्यव्यवस्थाको अर्को बैठक बस्ने गरी बिहानको बैठक स्थगित भएको हो ।

सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरेका थिए । तर बैठकको अध्यक्षता गरिदिने उपसभामुख दनुवार अचानक अस्वस्थ भएको कारण देखाएर आज बिहानै जहाजबाट काठमाडौँ पुगेकी छन् ।


उनले प्रदेश सभामा सभामुख र उपसभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता गर्न तोकिएको अध्यक्ष मण्डलका सदस्यहरू मध्ये दोस्रो सूचीमा रहेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई सम्बोधन गर्दै आफु नआउन्जेल बैठकको अध्यक्षता गर्न आग्रह गरेकी छन् ।

सोमबार दिउँसो मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम भएपछि बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर उपसभामुख नै अनुपस्थित भएपछि बैठक विना निश्कर्ष अन्त्य भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए । उनले कार्यव्यवस्थाको बैठकको अध्यक्षता नै नभएपछि प्रदेश सभाको बैठकको कार्यसूची समेत अनिश्चित भएको बताए ।

‘कार्यव्यवस्था परामर्श समितिको बैठक उपसभामुखले आफैं बोलाउनु  भयो, आफै अनुपस्थित भएपछि केहि निर्णय नगरी अहिले स्थगित भएको छ’ उनले भने, ‘कसको अध्यक्षतामा बैठक बस्ने भन्ने नै टुंगो नभएपछि अब कानुनी परामर्श गरेर कसरी अगाडि बढ्ने भन्ने फेरी छलफल गर्ने सहमति भएको छ ।’

उनले उपसभामुख दनुवारले अन्य सांसदहरूको विदा स्वीकृत गरेको र आफु पनि अनुपस्थित भएको बिषयलाई शंकास्पद राजनीतिक खेल भएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलले गम्भीरताका साथ लिएको बताए ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले कार्यव्यस्था बैठकमा उपसभामुख दनुवार र उनले बैठकको अध्यक्षता गर्न तोकेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य इस्राइल मन्सुरी समेत अनुपस्थित भएपछि स्थगित भएको बताए । 

‘कार्यव्यवस्था परामर्श समितिमा सभामुखको भूमिकामा रहने कोहि पनि सदस्यको उपस्थित नभएको हुँदा बैठक स्थगित गर्ने सहमति गरियो र अर्को बैठक १ बजे अगावै बस्ने सहमति भयो’ भण्डारीले भने, ‘अर्को बैठकमा उपसभामुख दनुवारले तोकेका प्रदेश सभा सदस्यलाई मन्सुरीलाई पनि खबर गर्ने र वहाँ आएपछि बैठक बस्नेछ ।’

प्रदेश सभा सचिवालयले बैठक सञ्‍चालनका बिषयमा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसँग कानुनी राय लिने तयारी गरेको जनाइएको छ ।

कार्यव्यवस्था बैठक बस्न नसकेका कारण सोमबारको बैठकको कार्यसूची नै अनिश्चित बनेको छ । कार्यसूची नआउँदा मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य पनि अनिश्चित भएको छ । उपसभामुख दनुवार काठमाडौँ उडेपछि अहिले विराटनगरको होटल एशियाटिकमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । 

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने उपसभामुख दनुवारलाई बैठकमा अनुपस्थित गराउने पूर्वतयारीका आधारमा आफ्ना आठ जना ज्येष्ठ सदस्यहरूलाई सोमबारको बैठकमा अनुपस्थित गराउने रणनीति लिएको छ । सोही आधारमा आठै जनाले आइतबार नै कोशी प्रदेश सभा सचिवालयमा लिखित रुपमा आफ्नो अनुपस्थितिबारे जानकारी गराइसकेका छन् ।

र, यो पनि 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x