कोशी

कोशी प्रदेश सभाभित्र सभाध्यक्षको विवादित मतदान

मुख्यमन्त्री थापाले भने :अब फेरि पनि सर्वोच्चले व्याख्या गर्ला

बाबुराम भण्डारी |
भदौ ४, २०८० सोमबार १९:४४ बजे

विराटनगर- प्रदेश सभा बैठकको अध्यक्षता गर्ने सभाध्यक्षले नै मतदान गरेर विश्वासको मत प्राप्त गरेका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यो पटक पनि संविधानको उल्लंघन भए नभएको कुरा सर्वोच्च अदालतले व्याख्या गर्ने दाबी गरेका छन् ।

सभामुखको भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले सोमबारको प्रदेश सभा बैठकमा मत विभाजन भएर मत सच्याउने समय समेत सकिएपछि आफूले दिँदै नदिएको मतलाई सच्याउने समयभित्र मतदान गरेर मुख्यमन्त्री थापालाई विश्वासको मत पुर्याइदिएका थिए । सभाध्यक्ष मन्सुरीको मतदान विवादित बन्ने भएपछि मुख्यमन्त्री थापाले यसको व्याख्या पनि सर्वोच्च अदालतले गर्ने टिप्पणी गरेका हुन् । उनले प्रमुख विपक्षी दल फेरि सर्वोच्च अदालत जाने र संविधान उल्लंघन भए नभएको व्याख्या सर्वोच्चले नै गर्ने बताए ।


‘हामीसँग गणित नै त्यस्तै थियो, सभामुखको भूमिका रहनु भएका सदस्यले आफ्नो समय समाप्त नहुँदै मतदान गर्नु भएको हो,’ मुख्यमन्त्री थापाले भने, ‘संविधान र संसदीय परम्पराको उल्लंघनको कुरा चैं अब फेरि पनि वहाँहरू अदालत जानुहुन्छ, फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला ।’

संविधानको धारा १८६ मा रहेको प्रदेश सभामा मतदानसम्बन्धी व्यवस्था अनुसार ‘प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ, अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन’ भन्ने स्पष्ट व्यवस्था छ । अध्यक्षता गर्ने व्यक्तिले मत बराबर भएको खण्डमा मात्रै आफ्नो निर्णायक मत दिने उल्लेख छ । तर, सभाध्यक्षको भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीले भने मत बराबर नै नभएको अवस्थामा आफैँले मत दिने अधिकार प्रयोग गरेका हुन् । 

यसअघि मुख्यमन्त्रीको दाबी पेश गर्ने क्रममा तत्कालीन सभामुख बाबुराम गौतमलाई हस्ताक्षर गराएपछि थापा नेतृत्वको सरकार गठनको सम्पूर्ण प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशबाट बदर भएको थियो । मुख्यमन्त्री थापाले यो विषय पनि सर्वोच्चमा पुग्ने भन्दै व्याख्या पनि सर्वोच्चले नै गर्ने बताए । सत्ता गठबन्धनको तर्फबाट जे गरे पनि संविधानसम्मत कार्य गरेको दाबी गरे ।

‘हामीले जे गरेका छौं विधान सम्मत नै गरेका छौं, किनकि बैठक संचालन गर्नुपर्ने तोकिएको सभामुख (उपसभामुख) ले वहाँ (मन्सुरी) को मत दिने अधिकारलाई कुण्ठित गर्नु भएको छ, सभामुख आफैँ भाग्नु भएको छ,’ मुख्यमन्त्री थापाले भने, ‘यो परिस्थिति निर्माण हुने काम सभामुखबाटै भएको छ, वहाँले यो जिम्मेवारी लिनुपर्छ ।’

सभामुखविहीन कोशी प्रदेश सभामा उपभामुख सृजना दनुवारले सभा संचालनको नेतृत्व गर्नुपर्ने जिम्मेवारी भएको र उनैले दिएको दिन र समयमा आफूले विश्वासको मत लिने प्रक्रिया अघि बढाएको मुख्यमन्त्री थापाले बताए । 

‘हामीले नै यो प्रदेश सभाको औचित्यतालाई स्थापित गरेको हो, यो सभाको वैधानिकतालाई बचाउने काम हामी गरेका छौं,’ उनको प्रश्न थियो, ‘आफू जोडिएको दलका सदस्यलाई छुट्टी बस्न लगाएर प्रदेश सभा खाली गराएर हिँड्ने काम भयो, बैठक संचालनको जिम्मेवारी लिने अनि प्रदेश सभा सदस्यलाई सभामुख तोकेर वहाँ सभा छाडेर हिँड्ने ?’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x