कोशी

कृष्ण सिटौला भन्छन् : एमालेले दह्रो प्रतिपक्षको भूमिका खेल्न सकेन

संविधान कार्यान्वयनको पहिलो पाँच वर्ष खेर गयो

बाबुराम भण्डारी |
भदौ ५, २०८० मंगलबार २१:५८ बजे

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले निरन्तर संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले दह्रो प्रतिपक्षको भूमिका खेल्न नसकेको टिप्पणी गरेका छन् । एमालेले जनजीविका, संविधान कार्यान्वयन लगायतका विषयमा भूमिका निर्वाह गर्नुपर्नेमा उसको भूमिका त्यतातिर नदेखिएको सिटौलाले बताए ।

नेपाली कांग्रेसका लागि संवाद केन्द्र ‘टक सेन्टर’ को ब्यानरमा विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा सहभागी भएर नेता कार्यकर्ताहरूको कुरा सुनेका सिटौलाले संचारकर्मीहरूसित एमालेको पछिल्लो भूमिकाप्रति प्रश्न उठाएका हुन् ।


‘एमालेले जनताका आवाज बोल्नुपर्यो, जनजिवीकासँग जोडिएका विषय, गाँस–बास, शिक्षा, स्वास्थ्यको प्रबन्ध, रोजगारी, पछाडि पारिएका वर्गका मानिसलाई अगाडि ल्याउने प्रबन्ध, समावेशी समानुपातिकको उचित प्रबन्धमा बोल्नुपर्थ्यो,’ सिटौलाले भने, ‘संवैधानिक निकायहरू सही तरिकाले चलेको छन् कि छैनन् भन्नेतर्फ आवाज उठाउनु पर्ने प्रतिपक्षले हो ।’ उनले जनताले एमालेलाई बलियो पार्टी बनाएर सरकार संचालन गर्ने मौका दिए पनि आफ्नै पार्टी (तत्कालीन नेकपा) भित्र झगडा गरेर काम गर्न चुकेको आरोप लगाए ।

नेता सिटौलाले सरकारले निष्पक्ष ढंगले शासन संचालन गर्नुपर्ने बताए । उनले सरकारको व्यवहार कसैको पक्ष वा विपक्षमा हुन नहुने तर्क गरे । सरकार निष्पक्ष र इमानदार समेत हुनुपर्ने धारणा राखे । 

‘सरकारले निष्पक्ष ढंगले शासन प्रशासन चलाउनु पर्छ, संविधानको मुल र भावना त्यै हो, सरकार इमानदार देखिनुपर्छ जनताको नजरमा, कसैको पक्षमा वा विपक्षमा रहनु हुँदैन,’ सिटौलाले भने, ‘निष्पक्ष प्रशासन हुनुपर्छ, किनभने गठबन्धनको सरकारभित्र हाम्रा पार्टीका साथीहरू हुनुहुन्छ ।’

उनले आजको परिस्थितिमा जे भएको छ त्यसैका आधारमा भोलिको परिस्थितिको मूल्यांकन गरेर अगाडि जानुपर्ने भन्दै गठबन्धनको भविष्यप्रति आशंका समेत जनाए । नेपालको संविधान २०७२ को मुल मस्यौदा समितिका सभापति रहेका सिटौलाले संविधान जारी भएको पहिलो पाँच वर्ष संविधान कार्यान्वयनको हिसाबले समय खेर गएको बताए । 

‘संविधान जारी भएपछि तीन वर्षभित्रै जनताको मौलिक हक सम्बन्धमा यावत कानुनहरू बन्नुपर्ने थियो तर बनेन, संघीयता कार्यान्वयन भएन,’ सिटौलाले भने, ‘कांग्रेसभित्र पनि यो कुरा उठिरहेको छ, संविधानको कार्यान्वयनको कुरामा कांग्रेसले ठोस रूपमा अघि जानुपर्छ भन्ने मेरो मान्यता छ ।’

संघीयताको भावना बमोजिम प्रदेश सरकारहरूलाई साधन स्रोतमय बनाउनु पर्ने भए पनि अहिले प्रदेश सरकारहरू संघीय सरकारको विकास एजेन्सी जस्तो देखिएको टिप्पणी गरे । सिटौलाले सिट संख्याकै आधारमा प्रदेश सरकारहरू बन्ने नबन्ने अवस्था रहेकोले केन्द्रमा भएको गठबन्धनको आधारमै प्रदेशभरी सरकार बन्नु स्वाभाविक भएको बताए । उनले कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकारले सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मतदान गरेर सोमबार लिएको विश्वासको मत संविधान सम्मत हुने दाबी गरे ।

संविधानको कार्यान्वयनपछि दुईवटा आम निर्वाचनमा भने पराजित भएका संविधान मस्यौदा समितिको सभापति सिटौलाले पराजित हुनुको कारण आफूविरुद्ध एमालेदेखि राजावादीसम्मले घेराबन्दी गर्ने गरेको बताए । 

‘राजा ज्ञानेन्द्रदेखि एमालेसम्म सबैले घेराबन्दी गर्न आउँछन्, अनि समस्या परिहाल्छ नि,’ उनले भने, जतिबेला म हारेको छु– कहिले बाम गठबन्धनले राप्रपालाई बोकेर, कहिले राप्रपाले एमालेलाई, समस्या त्यहिनेर छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x