कोशी

कोशी प्रदेश सभाको बैठक विपक्षी दलहरूद्वारा बहिस्कार

सभाध्यक्षविरुद्ध नाराबाजी भएपछि अनिश्चितकालका लागि स्थगित

बाबुराम भण्डारी |
भदौ ६, २०८० बुधबार १४:५० बजे

प्रदेश सभा बैठक बहिस्कारपछि बैठक हलबाट बाहिरिदै एमालेका सभा सदस्यहरू ।

विराटनगर । कोशी प्रदेश सभाको बुधबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बहिस्कार गरेका छन् । उनीहरुले बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीविरुद्ध नाराबाजी गरेपछि बैठकको कारवाही अवरुद्ध भएको हो ।

प्रतिपक्षी दलहरुबाट अवरुद्ध भएको भन्दै सभाध्यक्ष मन्सुरीले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।


सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा मतदान गरेर असंवैधानिक तरिकाले मतदान गरेको भन्दै विपक्षी दलहरुले सभाध्यक्ष मन्सुरीविरुद्ध नाराबाजी गरेका थिए । मन्सुरीले बैठकको कारवाही सुरु गर्ने वितिक्कै एमाले र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले संसदीय अभ्यासमा कहिं कतै नभएको घटना कोशी सभाभित्र भएको आरोप लगाए । सभाध्यक्षबाट गैरसंसदीय कार्य भएको भन्दै बैठक बहिस्कार गरिएको उनले घोषणा गरे ।

बैठकको अध्यक्षता गरिरहेका सभाध्यक्ष मन्सुरीले उठेका सभा सदस्यहरुलाई बस्न आग्रह गरे । तर एमालेका सभा सदस्य एवं पूर्व सिंचाई, खानेपानी तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले पनि सभाध्यक्ष केन्द्रीत विरोध जनाए ।

सभामुखको कुर्सीबाट संविधानको ढाठो उल्लंघन भएको छ, संविधानको धारा १८६ ले सभामुखको अधिकार स्पष्ट गरिएपनि मतदान गरिएको छ’ उनले भने, ‘सभामुख महोदय, तपाँईलाई सोध्न चाहन्छु, त्यस दिन मत बराबरी भएको थियो र मतदान गर्नुभयो ? तपाँईको कुर्सीबाट संविधान उल्लंघन गर्न पाँइदैन, मतदान गरेर असंवैधानिक कार्य गर्नु भएको छ ।’

संविधानविपरित मतदान गर्ने सभामुखबाटै बैठकको अध्यक्षता भएको र फेरी गैरसंवैधानिक कार्य गर्नसक्ने आरोप लगाउँदै मेन्याङ्बोले बैठक बहिस्कार गर्ने घोषणा गरे । एमालेका सभा सदस्यहरु समेत बैठक छाडेर बाहिरिएपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नभएसम्म प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे ।
बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव स्वरुप सभामा प्रस्तुत गर्ने कार्यसुची तय गरेको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x