कोशी

मन्त्री किरातीको आक्रोश : नजिक–नजिक एयरपोर्ट बनाएर के गर्न खोजेको ?

बाबुराम भण्डारी |
भदौ १७, २०८० आइतबार २२:० बजे

विराटनगर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकातिर जिल्लैपिच्छे एयरपोर्ट बनाउने होडबाजी चलिरहेको र अर्कोतिर बनेका एयरपोर्टहरू गौचरणमा परिणत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सरकारसँग जहाज नभएकै कारण कैयौं विमानस्थलमा उडान नभएर बन्द भइसकेको स्वीकार गरे ।

आइतबार विराटनगरमा पत्रकारहरूसँगको सम्वादमा मन्त्री किरातीले विमानस्थलहरू बन्दा राजनीतिक दवावमा बनेका कारण अहिले ती विमानस्थलहरूले घाम तापिरहेको र गौचरणमा परिणत भएको दाबी गरे ।


‘हिजो राजनीतिक प्रेसरले एउटा जिल्लामा तीनवटा एयरपोर्ट बने, त्यसो गरिनु हुँदैन, बनेका एयरपोर्टहरू घाम ताप्ने अवस्थामा छन्, गौचरणमा परिणत भएका छन्,’ मन्त्री किरातीले भने, ‘भन्दाखेरी मान्छेहरूलाई रिस उठ्छ होला, तर विराटनगरमा पनि यत्रो एयरपोर्ट, धरानमा पनि एयरपोर्ट चाहिएको छ, मलाई त चल्छ जस्तो लाग्दैन, उदयपुरमा पनि अर्को बन्दैछ भने यति नजिक–नजिक एयरपोर्ट बनाएर हामी के गर्न खोज्दैछौं ? यो बसस्टेण्ड हो र ? जहाज उड्ने हो नि ।’

अर्बौं रुपैयाँ खर्च गरेर एयरपोर्ट बनाउने र जहाज नउडाउने हो भने एयरपोर्ट बनाउनुको काम नभएको उनले बताए । एयरपोर्टको साटो निर्माणाधीन ८ लेनको राजमार्गलाई विस्तार गर्दै लैजानुपर्ने बताए ।

मन्त्री किरातीले पुष्पकमल दाहाल नेतृत्वको यही सरकार पाँचैं वर्षसम्म टिक्ने दाबी गरे । उनले यो सरकार ढलेर अर्को बनाउनेतिर जाँदा मुलुक अस्थिरतातर्फ जाने दाबी गरे । अहिले सरकारले जनपक्षीय काम गर्दै गइरहेकाले सरकार टिक्ने बताए ।

‘यो सरकार ५ वर्ष जान्छ किनभने यो सरकार ढलेर अर्को बनाउनेतिर गयौं भने अस्थितरतातिर मुलुक जान्छ,’ उनले भने, ‘अहिले भइरहेको जनपक्षीय कामहरूको आधारमा यो सरकार टिकेर जान्छ ।’

मन्त्री किरातीले सरकारले गरेका राम्रा कामको जनतामा प्रचार गर्ने र सरकारले पनि आफूले थालेका भ्रष्टाचार, अशिक्षा र भोकमरीविरुद्धका कदमलाई अगाडि बढाउँदै लैजाने जानकारी दिए ।

अहिले माओवादी पार्टीको जनतासँग सम्बन्ध टुटेका कारण पार्टी पनि कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने अभियान सुरु गरिएको बताए । उनले माओवादी नेतृत्वको वर्तमान सरकार प्रजातन्त्र पछाडिकै राम्रो काम गर्ने पहिलो सरकार भएको दाबी समेत गरे ।

मन्त्री किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्य्हारक्याल लामाको नियुक्ति विवादबारे संचारकर्मीहरूले सोधेको प्रश्नमा निर्विवाद हुने मान्छे भेटिनै छाडेको जवाफ दिए । उनले लामा विवादित व्यक्ति नभएको दाबी गरे ।

‘ल्य्हारक्याल विवादित होइनन्, विवादित बनाइयो, कांग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष नै वहाँले चलाउनुभयो, एमालेको पालामा संविधानसभा सदस्य र अर्थ राज्यमन्त्री चलाउनु भयो, त्यति बेला नै विवाद भयो तर अदालतले वहालाई कुनै पनि कुरामा दोषी प्रमाणित गर्न सकेन,’ नियुक्तिको बचाउ गर्दै किरातीले भने, ‘कुनै पनि सरकारले गरेको कुनै पनि नियुक्ति निर्विवाद छैनन्, निर्विवाद हुने मान्छे पनि छैनन् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x