कोशी

विराटनगरका तीन नगर प्रहरीमाथि कारबाही, नगर प्रहरीमाथि हातपात गर्नेलाई भने उन्मुक्ति

बाबुराम भण्डारी |
असोज २, २०८० मंगलबार १९:१८ बजे

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जसपा मोरङका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा महानगरकै निर्देशनमा ट्राफिक व्यवस्थापन कार्यमा खटिएका तीन नगर प्रहरीलाई कारबाही गरेका छन् ।

जसपा नेता यादव र नगर प्रहरीबीच भएको विवादमा मेयर कोइरालाले आफ्नै उपस्थितिमा वडा प्रहरी कार्यालयमा सहमति गराएपनि जसपा पुनः आन्दोलनमा उत्रिएपछि नगर प्रहरीमाथि कारबाही गरेका हुन् ।


कोइरालाले मंगलबार विज्ञप्तिमार्फत नगर प्रहरीका हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिदेखि लागू हुनेगरी नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको कुरा विज्ञप्तिमार्फत जनाएका छन् ।

‘जसपाका केन्द्रीय सदस्यसहितको प्रतिनिधिमण्डलको उपस्थितिमा भएको छलफलको निर्णयबाट महानगर प्रमुखलाई छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी दिएको आधारमा नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिदेखि लागू हुने गरी नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

बुधबार साँझ करिब साढे ४ बजेतिर नगर प्रहरीका सिपाही विक्रम श्रेष्ठ र विराटनगर–७ स्थित स्नेहा फार्मेसीका सञ्चालक रहेका जसपा नेता यादवबीच नो पार्किङमा राखिएको सिटी रिक्सामा ह्विल लक लगाएको विषयमा विवाद हुँदा घम्साघम्सी भएको थियो । 

ड्युटीमा रहेका नगर प्रहरीका सिपाही श्रेष्ठले जसपाका नेता यादवले आफूलाई दुर्व्यवहार गरेको भन्दै थप नगर प्रहरी बोलाएका थिए । त्यहाँ पुगेका नगर प्रहरीले यादवलाई उनको औषधी पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा लगेर बुझाएका थिए । 

सोही क्रममा यादवका छोरा आशिष यादवले वडा प्रहरी कार्यालयभित्रै नगर प्रहरीमाथि हातपात गरेपछि मेयर कोइरालाकै उपस्थितिमा दुवै पक्षलाई सम्झाएर मिलापत्र गराएका थिए । नगर प्रहरीमाथि हातपातको आरोपमा छोरामाथि जाहेरी पर्न सक्ने र कारबाही हुने डरले जसपाका नेता यादवले मिलापत्रमा हस्ताक्षर गरेका थिए । तर नगर प्रहरीले उनलाई कठालोमा समातेर तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भने यादवमाथि पार्टी नेता कार्यकर्ताहरूले आन्दोलनमा उत्रिनुपर्ने दवाब दिएका थिए । 

सोही दवाबका कारण जसपाले बिहीबार विराटनगर महानगरपालिका अगाडि नाराबाजी गर्दै नगर प्रहरीहरूमाथि कारबाहीको माग गरेको थियो । मेयर कोइरालाले आफैं लागेर सहमति गराइसकेको विषयमा राजनीतिक दवावकै भरमा मंगलबारसम्मको म्याद दिएर नगर प्रहरीमाथि कारबाही गर्ने प्रतिवद्धतासहितको विज्ञप्ति निकालेका थिए । 

मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने जसपाका नेता यादव र उनका छोरा आशिषलाई उन्मुक्ति दिंदै उनकै निर्णय कार्यान्वयनका लागि खटिएका नगर प्रहरीमाथि भने कारबाही गरेका हुन् । यता नगर प्रहरीहरूमाथि मात्रै कारबाही गर्ने निर्णय गरेका मेयर कोइरालाको कार्यशैलीको चौतर्फी विरोध भएको छ ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरकै नीतिलाई कार्यान्वयन गर्न खटिएका नगर प्रहरीलाई सबै दोष थोपरेर कारबाही गरिनु अन्यायपूर्ण भएको बताए । ‘यो घटनामा धान खाने मुसो, चोट पाउने बिरालो जस्तै भयो’ थापाले भने, ‘सबै दोष नगरमाथि लगाएर जनप्रतिनिधीहरू  उम्किने प्रयास कुनै पनि हालतमा जायज छैन ।’

उनले सामान्य पारिश्रमिक पाउने नगर प्रहरीको रोजीरोटी खोसिने गरी कारबाहीको घोषणा हुनु दुखद् भएको बताए । प्राध्यापक डा. चन्द्र उपाध्यायले दोषभन्दा सजाय कहिल्यै पनि बढी हुन नहुने बताए । उनले भने ‘फेरि ठूलो मानिसले माफ गरिदिए सामान्य जीविकामा रहेकाहरूले त्यो गुण जीवनमा कहिल्यै बिर्सिंदैनन् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x