कोशी

एमाले काेशी अधिवेशन : नेतृत्वका लागि सहमतिको रटान, आकांक्षीहरू भित्रभित्रै प्रतिष्पर्धाको तयारीमा

बाबुराम भण्डारी |
असोज १२, २०८० शुक्रबार १०:४६ बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन शुक्रबार विराटनगरमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । शनिबार सकिने गरी तय गरिएको अधिवेशनबाट २ सय १५ सदस्यीय कोशी प्रदेश कमिटीको अध्यक्षसहित पाँच पदाधिकारी र बाँकी सदस्यको चयन हुनेछन् ।

अधिवेशन आयोजक कमिटी एवं वर्तमान प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अधिवेशन सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनले भव्यताका साथ पहिलो प्रदेश अधिवेशन उद्घाटन हुने बताए ।


न्यौपानेका अनुसार अधिवेशनले कोशी प्रदेशको वर्तमान राजनीति परिस्थिति र पार्टीको सांगठानिक नीतिमाथि वस्तुनिष्ठ समीक्षा गर्दै आगामीे कार्यभार तय गर्ने जनाइएको छ । साथै अधिवेशनबाट प्रदेश कमिटीको आगामी दुई वर्षे कार्यकालको कुशलतापूर्वक नेतृत्व गर्न सक्षम हुने नयाँ नेतृत्व पनि चयन गर्ने बताए । 
अधिवेशनका लागि १४ वटै जिल्लाबाट ९९७ जना प्रतिनिधिहरु चयन भइसकेका छन् । त्यसको ५ प्रतिशत हुन आउने ५० जना प्रतिनिधि मनोनित गरेपछि १०४७ जना प्रतिनिधिले नयाँ नेतृत्व निर्माणको फैसला गर्नेछन् ।

कोशी प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष न्यौपाने स्वयंम् सर्वसम्मत अध्यक्ष बन्ने दाउमा छन् । त्यसैगरी केन्द्रीय सदस्य विनोद ढकालले अध्यक्षकै लागि आफ्नो तयारी अघि बढाइरहेका छन् । अध्यक्षका लागि एमाले नेता एवं संविधानसभा सदस्य घनश्याम खतिवडा पनि प्रदेश कमिटीको अध्यक्षमा आफ्नो स्पेस सुरक्षित गर्न नेतृत्व रिझाउन तल्लिन छन् । 

अध्यक्षकै लागि प्रदेश कमिटीका वर्तमान् उपाध्यक्ष टिकाराम चेम्जोङ स्वतः दाबेदार हुन् । उनले पनि सकेसम्म सहमतिमै आफु अध्यक्ष बन्नेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।

आकांक्षीहरु आफ्नो पद सुनिश्चित गर्ने दाउपेचमा लागिसक्दा पनि अध्यक्ष केपी शर्मा ओलीबाट लाइन नपाएको कार्यकर्ताहरुको भनाई छ । अन्य प्रदेशमा सहमतिको सम्भावना टर्दै गएर अन्तिममा चुनाव नै नेतृत्व निर्माणको सहि विकल्प ठहर हुँदा कोशीमा भने आकांक्षीहरु सहमतिकै प्रयास भइरहेको रटान गरेर भित्रभित्रै लविङमा केन्द्रीत छन् ।

नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव रघुवीर महासेठले सहमतिको प्रयास जारी रहने बताए । तर सहमति भनेर प्रतिनिधिहरुमाझबाट निर्वाचित हुने अधिकार भने नखोसिने दाबी गरे । कोशी प्रदेशमा नेतृत्व व्यवस्थापनको समेत जिम्मेवारीमा रहेका उनले अहिले एमाले विरोधीहरुले एमालेलाई समाप्त पार्न लागिपरिरहेको भन्दै त्यसका लागि पार्टीभित्र एकता आवश्यक रहेको बताए । दशौं महाधिवेशनबाट पार्टीभित्र कुनैपनि विवाद नभएको दाबी गर्दै सहज रुपमा कोशी प्रदेशमा नेतृत्व चयन हुने बताए ।

‘सकभर हामी कोशी प्रदेशका १४ जिल्लामा पदाधिकारीसँगै प्रदेश सदस्यहरु पनि सहमतिमै लाने कोशिस गरिरहेका छौं, तर यो हाम्रो कोशिस हो, हुन पनि सक्छ नहुन पनि सक्छ’ महासेठले भने, ‘एमालेभित्र नेतृत्वको लडाई छैन, तैपनि हामीले सबैलाई मिलाउन प्रयत्न गर्ने हो, निर्वाचित हुने अधिकार सबैको हो, गुट बिनाको निर्वाचन लड्नका लागि रोक्नुपर्छ भन्ने पार्टीभित्रको बुझाई हो ।’

स्रोत अनुसार अध्यक्षका आकांक्षी वर्तमान अध्यक्ष न्यौपाने सकेसम्म ओलीलाई फकाएर पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने योजनामा छन् । अध्यक्षका लागि साथीहरुसँग सरसल्लाह गरिरहेको न्यौपानेले बताए ।

‘हिजो पनि म नेतृत्वले जिम्मेवारी दिएर आएको हो, मेरो भूमिका पार्टीले जहाँनेर देख्छ म त्यहि भूमिकामा बसेर काम गर्न सक्छु’ उनले भने, ‘म पार्टीको इमान्दार सिपाहीँ हो, पार्टीले मलाई जे जिम्मा दिन्छ, कार्यकर्ताहरुले जे मा जिम्मा दिन्छन् ।’

त्यसैगरी कोशी प्रदेशको एमालेको सांगठानिक कार्य सम्पादन र जिल्लाहरुको नेतृत्व व्यवस्थापनमा सहजीकरण गर्दै आएका केन्द्रीय सदस्य ढकाल भने ओली लाइनभन्दा बाहिरैबाट अध्यक्ष चुनिने गृहकार्यमा केन्द्रीत छन् । ढकाललाई अध्यक्ष ओलीसँगै कतिपय बिषयमा विमति राख्ने र सवाल उठाउन सक्ने नेताका रुपमा उनका समर्थकहरुले चिन्ने गर्दछन् । नेताहरुले सकेसम्म मिलाउने भनेर आश्वासन दिइरहेको भन्दै अहिल्यै आफुले बोल्ने बेला नभएको ढकालले बताउँदै आएका छन् । 

यता संविधान सभा सदस्य रहिसकेका एमाले मोरङका पुराना नेता धनश्याम खतिवडा भने ओलीबाट प्रस्तावित हुने विश्वासमा छन् । उनी निकटका अनुसार पार्टी अध्यक्ष ओलीसँग निकट रहेका स्थायी कमिटी सदस्य गुरु बरालदेखि भानुभक्त ढकालसम्मका नेताहरु खतिवडाकै पक्षमा रहेका छन् । पार्टीका पुराना र इमान्दार नेताको छवि बनाएका खतिवडा अहिले केन्द्रीय जिम्मेवारीमा छैनन् । पोलिटव्यूरो सदस्य सरहको हैसियत हुने प्रदेश अध्यक्षका लागि खतिवडा पनि दौडमा डटिरहेका छन् ।

धनकुटाको भुगोलबाट स्थापित भएका चेम्जोङ भने स्वतः अध्यक्षको लाइनमा छन् । उनले पनि पार्टीको हितका लागि मिलेर जान तयार रहेको बताउँदै आएका छन् । कोशी प्रदेश अधिवेशनमा प्रतिनिधिहरुसहित एमालेका नेता कार्यकर्ताहरु केहिदिन अघिदेखि नै विराटनगर आइसकेका छन् । 

विराटनगरको होटल मनास्लु इनमा हुने प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई विहानको खाना, दिउँसो चिया नास्ता र बेलुकाको खानाको व्यवस्थापन गरिएको जनाइएको छ । प्रतिनिधिहरूलाई अधिवेशनको तोकिएको दिन एक छाक माछामासु पनि खुवाइने प्रचार प्रसार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिए ।

प्रतिनिधिहरूको बास व्यवस्थापनका लागि विराटनगरको अतिथि सदन, मारवाडी सेवा सदन, बिष्णुमाया पुस्तकालय, रामजानकी मन्दिर धर्मशाला, आरआरएन भवन र जैन भवन लगायतमा रहेको आवासस्थल र मध्यम स्तरका होटलसमेत गरी ३० वटा धर्मशाला र होटलहरू ‘बुक’ गरिएको उनले बताए ।

शुक्रबार अधिवेशनको उद्घाटन सकिएपछि बन्द सत्रको कार्यत्रम सुरु हुने जनाइएको छ । बन्द सत्रमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य शेरधन राई, वर्तमान मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुवोध प्याकुरेलको समूहले कोशी प्रदेशको आर्थिक र सामाजिक रूपान्तरण र समृद्धिको खाका प्रस्तुत गर्ने कार्यक्रम रहेको लामाले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x