कोशी

एमाले कोशी अधिवेशन

सय रुपैयाँ तिरेर प्रतिनिधिहरूले लिए मनोनयन फारम, दर्ता गर्ने समय पर्खिंदै निर्वाचन समिति

बाबुराम भण्डारी |
असोज १३, २०८० शनिबार १६:२४ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । विराटनगरको होटल मनास्लु इनमा प्रदेश अधिवेशनको बन्द सत्र जारी छ । हलभित्र राजनीतिक र सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफल चलिरहँदा बाहिर भने निर्वाचनको कार्यतालिका टाँसिएको छ ।

वरिष्ठ अधिवक्ता चुडामणि आचार्य संयोजकत्वको प्रदेश निर्वाचन कमिटीले आकांक्षीहरूका लागि एक सय रुपैयाँ तिरेर मनोनयन दर्ता फारम वितरण गरिरहेको छ । तर, प्रतिनिधिहरूलाई मनोनयन दर्ताको समय भने तोकिएको छैन ।


बन्द सत्रको हलले सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्न बाँकी छ । त्यसैगरी स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी कमिटी सदस्य तथा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुबोध प्याकुरेलले तयार पारेको कोशी प्रदेशको आर्थिक सामाजिक रूपान्तरण र समृद्धिको प्रस्तावमाथि छलफल पनि हुनै बाँकी छ ।

हलभित्रको कार्यक्रम बाँकी रहँदै निर्वाचन समितिले भने मनोनयन पत्र दर्ताको समय तोकेर निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

कार्यतालिका अनुसार जिल्लागत रूपमा आएका प्रतिनिधिहरूको नामावली टाँसिएको छ । ४ः३० बजेसम्म उम्मेदवारहरूलाई मनोनयन दर्ताको समय तोकिएको छ । तर, बन्द सत्रको हलभित्र रहेका पार्टी महासचिव शंकर पोखरेल लगायतका अध्यक्ष मण्डलमा रहेका नेताहरूको निर्देशन नआएको भन्दै मनोनयन दर्ता गर्न भने रोकिएको छ । 

अहिले आकांक्षीहरूले निर्वाचन कमिटीबाट मनोनयन दर्ता फारम लिइरहेका छन् । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २ सय १५ सदस्यीय प्रदेश कमिटीको जुनसुकै पदमा मनोनयन दर्ता गर्न पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

एमाले कोशी प्रदेशको उद्घाटन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । कोशीमा ओली निकट भनेर प्रचार गरिएका मोरङका एमाले नेता घनश्याम खतिवडा र केन्द्रीय कमिटी सदस्य समेत रहेका विनोद ढकालबीच अध्यक्षमा मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x