कोशी

एमाले कोशीको अध्यक्षका लागि ढकाल र खतिवडाले गरे मनोनयन दर्ता

इकागज |
असोज १३, २०८० शनिबार १८:२५ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि विनोद ढकाल र घनश्याम खतिवडाले मनोनयन दर्ता गरेका छन् । 

सर्वसम्मत भएको खण्डमा दोहोर्याएर अध्यक्ष बन्ने सोच बनाएका वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपानेले भने मनोनयन दर्ता नगर्ने बताएका छन् । अध्यक्षका आकांक्षी रहेका वर्तमान कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ पनि अध्यक्ष बन्ने दौडबाट पछि हटेको जनाइएको छ ।


अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका ढकाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई छाडिदिन आग्रह गरेको जनाइएको छ । तर, ढकालले आफू अघि बढिसकेको सन्देश ओली निकटका नेताहरूलाई दिएका हुन् ।

ओलीको निर्देशन अनुसार स्थायी कमिटीका केही सदस्यले भने घनश्यामलाई नै अध्यक्ष बनाउने केन्द्रीय लाइन रहेको भन्दै तल्लो कमिटीका नेताहरूलाई ब्रिफिङ गरेका छन् । ढकालले बन्द सत्रको हलमै मोरङ जिल्लाको समूहगत प्रस्तुतिका क्रममा अध्यक्षको नाम जोडेर कसैलाई पनि काखापाखा नगर्न चेतावनी दिएका छन् ।

एमाले मोरङको दुई पटक अध्यक्ष भइसकेका ढकालले अध्यक्ष केपी शर्मा ओलीको कतिपय राजनीतिक निर्णय र कामप्रति असहमति जनाउँदै आएका थिए । त्यही भएर ओलीले उनलाई रोक्दै खतिवडालाई सर्वसम्मत बनाउने प्रयास गरेको जनाइएको छ ।

ढकाल निकट नेताहरूका अनुसार ओलीले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयनका लागि ढकाललाई पोलिटब्युरो सदस्य बनाउने आश्वासन समेत दिइसकेको जनाइएको छ । तर, ढकालले नमानेको जनाइएको छ ।

अध्यक्षमा उम्मेदवारी दर्ता गरेका खतिवडाले पनि आफू अघि बढिसकेको जनाएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका खतिवडा एमालेका पुराना र इमानदार नेता हुन् ।

अध्यक्ष पदका लागि ढकाल र खतिवडाबाहेक अरुको उम्मेदवारी नपर्ने दाबी एमाले कार्यकर्ताहरूको छ । अहिले विराटनगरको होटल मनास्लु इनमा जिल्लागत रूपमा आकांक्षीहरूले मनोनयन दर्ता गरिरहेका छन् ।

यो अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना निर्वाचित गर्नेछ ।


Author

थप समाचार
x