कोशी

एमाले काेशी प्रदेश : ओलीको समर्थन रहेका खतिवडाविरुद्ध ढकाल मैदानमा

उपाध्यक्ष सर्वसम्मत, सचिव र उपसचिवमा पनि समूहगत प्रतिष्पर्धा

बाबुराम भण्डारी |
असोज १४, २०८० आइतबार ९:३५ बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहान ११ बजेदेखि निर्वाचन गर्ने गरी स‌ंसाेधित कार्यतालिका निर्वाचन कमिटीले सार्वजनिक गरेको छ । 

प्रदेश कमिटीको अध्यक्षका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेका घनश्याम खतिवडाविरुद्ध केन्द्रीय सदस्य विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । एक उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष टिकाराम चेम्जोङकै पुनः एकल उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले औपचारिक घोषणा नगरेपनि चेम्जोङ उपाध्यक्ष सर्वसम्मत भएका छन् ।


एमाले अध्यक्ष ओलीको गृह प्रदेश भएका कारण उनले सकेसम्म निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । ओलीले खतिवडालाई अध्यक्ष सर्वसम्मत गर्नका लागि अध्यक्षको दाबेदार रहेका पार्टी केन्द्रीय सदस्य ढकाललाई पोलिटब्युरो सदस्य बनाउने आश्वासन समेत दिएका छन् । तर ढकालले आफू अघि बढिसकेको जनाउ दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

एक सचिव र दुई उपसचिवका लागि अध्यक्षकै प्रतिष्पर्धीहरुको लाइन चलेको छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा प्रतिष्पर्धामा उत्रिएका छन् । भण्डारी खतिवडा समूहका उम्मेदवार हुन् । हालको कमिटीका उपसचिव रहेका लामा भने ढकाल समूहबाट सचिवको उम्मेद्धवार बनेका छन् ।

उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी खतिवडा समूहका उम्मेदवार रहेका छन् । त्यसैगरी संखुवासभाका भवेश्वर गुरुङ ढकाल समूहको उम्मेदवार हुन् । अर्का उपसचिवका उम्मेदवार खेम नेपालीले भने आफू कुनैपनि समूहमा नरहेको दाबी गरेका छन् । राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका नेपालीले स्वतन्त्र रुपमा उपसचिवको उम्मेदवार बनेको बताएका छन् ।

२ सय १५ सदस्यीय प्रदेश कमिटीको नेतृत्व चयनका लागि आजै निर्वाचन हुने अध्यक्ष मण्डलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए । उनले केही ढिलो गरी भए पनि निर्वाचनको प्रक्रिया अघि बढ्ने बताए । 

कोशी प्रदेश कमिटीको अधिवेशनमा ९९७ जना प्रतिनिधिहरु सहभागी रहेका छन् । कुल प्रतिनिधिको पाँच प्रतिशत हुन आउने ५० जना प्रतिनिधि मनोनित गर्ने विधानको व्यवस्था रहेपनि प्रदेश कमिटीले कसैलाई पनि मनोनित गरेन ।

प्रतिनिधिहरुलाई आइतबार बिहानसम्मका लागि खाना खाने व्यवस्था अधिवेशन स्थलमा गरिएको गौतमले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x