कोशी

कोशीमा दसैँ अवधिमा १६१ दुर्घटना : १८ को मृत्यु, २८५ जना घाइते

बाबुराम भण्डारी |
कात्तिक १३, २०८० सोमबार १८:१९ बजे

विराटनगर- दसैँ अवधिमा कोशी प्रदेशमा भएका १३५ वटा सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । 

बडादसैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म कोशी प्रदेशका १४ वटा जिल्लाहरूमा १६१ वटा सवारी दुर्घटना भएकोमा ती दुर्घटनामा परी १८ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए । 


ती दुर्घटनाहरूमा परी ४० जना गम्भीर घाइते भएका छन् । त्यसैगरी २४५ जना सामान्य घाइतेसहित २८५ जना घाइते भएको उनले बताए ।

प्रनाउ दाहालका अनुसार दसैँ अवधिमा भएका सवारी दुर्घटनाहरूमा सबैभन्दा धेरै झापामा ७ जनाको मृत्यु भएको छ । मोरङमा ५, सुनसरीमा ४ र ओखलढुङ्गामा १ जनाको मृत्यु भएको जनाइएको छ । 

गत शुक्रबार सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । शुक्रबार नै सुनसरीको दुहबी नगरपालिका–११ मा को४प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गुडिरहेको को४प १७५८ नम्बरको मोटरसाइकल ठोक्किँदा को४प ९१७८ नम्बरको मोटरसाइकलका चालक ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

त्यसैगरी शनिबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–१५ मा प्र १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका धनकुटाको शहिदभूमि गाउँपालिका–१ का ४९ वर्षीय हरिभक्त राईको पनि उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

झापाको गौरीगञ्ज गाउँपालिका–५ मा को३३प ६३६४ नम्बरको मोटरसाइकल र को२८प ३०८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा को२८प ३०८६ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

दसैँ अवधिमा भएका १६१ वटा सवारी दुर्घटनामध्ये मोरङमा सबैभन्दा धेरै ६१ वटा दुर्घटना भएका छन् । जहाँ १२ जना गम्भीर र ८६ जना सामान्य घाइते भएका छन् । 

सुनसरीमा ५२ वटा दुर्घटनामध्ये गम्भीर १० र सामान्य घाइते ७६ जना भए । 

झापामा २३, उदयपुरमा १२, धनकुटा र ओखलढुंगामा ३–३ तथा खोटाङमा १ वटा दुर्घटना भएको जनाइएको छ । दसैँमा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६२८ वटा सवारी साधनलाई कारबाही गरिएको पनि जनाइएको छ । 

ट्राफिक नियमविपरीत चलेका सवारीसाधनलाई कारबाही गर्दा ४४ लाख १४ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x