कोशी

कोशीमा आजबाट प्रतिपक्षमा बस्ने एमालेको निर्णय

इकागज |
कात्तिक २०, २०८० सोमबार १२:५८ बजे

विराटनगर- मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि सरकारबाट फिर्ता भएको एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको कोशी प्रदेश एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता भएका कारण प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवतिरमण भण्डारीले इकागजलाई जानकारी दिए ।

आजबाट बस्ने कोशी प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षमा रहने बताए । उनले कार्की नेतृत्वको सरकार गठनका लागि एमालेले दलको तर्फबाटै गरेको समर्थन मन्त्री फिर्ता भएका कारण स्वत: फिर्ता भएको जानकारी दिए ।


तर प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई सभा सदस्यहरूको हैसियतमा दिएको विश्वासको मत भने हाल कायम राख्ने निर्णय गरेको भण्डारीले बताए । दलको निर्णय आजै मुख्यमन्त्री कार्की र प्रदेश सभामा समेत जानकारी गराइसकेको जनाइएको छ ।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री बनाउन एमालेका ३९ जना सभा सदस्यहरुले हस्ताक्षर गर्दै सनाखतसमेत गरेका थिए ।

एमालेले मुख्यमन्त्री कार्कीलाई अहिलेकै अवस्थामा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा नल्याउन दवाब दिएकोमा कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जवेगुलाई 

विनाविभागीय मन्त्री नियुक्त गरे । त्यसको भोलिपल्ट नै एमाले संसदीय दलका उपनेता समेत रहेका विनाविभागीय मन्त्री राम बहादुर मगर सरकारबाट फिर्ता भएका थिए ।


Author

थप समाचार
x