कोशी

खोटाङ प्रहरीले सुरु गर्‍याे ‘नो यूअर बीएमआई’

इकागज |
कात्तिक २६, २०८० आइतबार १६:१२ बजे

विराटनगर- शान्ति सुरक्षा कायम गर्न हरबखत खटिने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई दुरुस्त राख्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले ‘नो यूअर बीएमआई’ अर्थात् शरीरको तौल र उचाइको सन्तुलनको नापजाँच सुरु गरेको छ । प्रहरीले त्यसका लागि खरिद गरेको तौल र उचाइ नाप्ने विद्युतीय मेसिन प्रयोगमा ल्याएर आइतबारदेखि बीएमआई जाँच सुरु गरेको हो । 

स्वस्थ हुनलाई उचाइ अनुसार तौल छ या छैन भन्ने कुरा पत्ता लगाउन शरीरको बडी मास इन्डेक्स (बीएमआई) जाँच गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । जिल्लामा कार्यरत सबै प्रहरी कर्मचारीहरूको बीएमआई जाँच गरिने उनले जानकारी दिए ।


‘नागरिकको सेवामा प्रहरी कर्मचारीलाई तल्लीन बनाउन उनीहरूको स्वास्थ्य अवस्था चुस्तदुरुस्त हुनु आवश्यक छ,’ प्रनाउ खड्काले भने, ‘अबदेखि प्रत्येक महिना मातहत समेतका प्रहरी कर्मचारीहरूले अनिवार्य रुपमा आफ्नो बीएमआई अद्यावधिक गर्नुपर्नेछ ।’ 

बीएमआई जाँचको सुरुवात जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरीहरूबाट गरिएको थियो । उनीहरूलाई आफ्नो उचाइ र तौलको मापन गरी बीएमआई चार्ट अनुसारको शारीरिक सन्तुलनबारे जानकारी गराइएको हो ।

साथै शारीरिक तन्दुरुस्ती कायम गर्न आवश्यक खानपिन र शारीरिक व्यायामको बारेमा समेत सल्लाह सुझाव दिइएको जनाइएको छ । प्रहरीलाई नियमित शारीरिक अभ्यासका लागि जिल्ला प्रहरी खोटाङको कार्यालय परिसरभित्रै शारीरिक अभ्यास ‘जोन’ तयार गरिएकोले त्यसलाई प्रयोगमा समेत ल्याइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।


Author

थप समाचार
x