कोशी

झापामा अत्यधिक वर्षा, सतर्क रहन चेतावनी

इकागज |
असार १९, २०७८ शनिबार १०:२५ बजे

झापा : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।

मेची, कनकाई, बिरिङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ । भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ । यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।


झापामा सबैभन्दा बढी बाढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कन्काई जलाधारका चार पालिका कन्काई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा छन् ।


Author

थप समाचार
x