कोशी

नाम मात्रको मुख्यमन्त्री सम्पर्क कार्यालय

लीलावल्लभ घिमिरे |
पुस १, २०७७ बुधबार १६:५४ बजे

धनकुटा : प्रदेश १ अन्तरगत उत्तर–पूर्वका नागरिकलाई नजिकबाट सेवा दिने उदेश्यले धनकुटा सदरमुकाममा खोलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय नाम मात्रको छ । कार्यालयमा एक जना प्रहरी र एक जना कार्यालय सहयोगीबाहेक अरु कोही भेटिदैनन् । पूर्वीपहाडी जिल्लाका बासिन्दाले कार्यालय किन खोलिएको भन्ने नै बुझेका छैनन् । धेरैलाई त यहाँ सम्पर्क कार्यालय छ भन्नेसम्म जानकारी छैन ।

अस्थायी रुपमा खोलिएकोे कार्यालयमा सातौं तह र छटौं तहका एक–एक जना अधिकृतसहित २ जना कार्यालय सहयोगीको दरबन्दी छ । जिल्लाका कार्यालयबीच समन्वय गर्न र मुख्यमन्त्री र मन्त्रिपरिषदको कार्यालयसंग सम्बन्धित जनगुनासा सम्बोधन गर्न कार्यालय स्थापना गरिएको हो । २०७६ वैशाख १६ गतेको मन्त्रिपरिषदले बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय धनकुटामा खोल्ने निर्णय गरेको थियो । 


२०७६ जेष्ठ २ गतेबाट तत्कालीन पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनमा उक्त कार्यालय स्थापना गरिएको हो । धनकुटामा खोलिएको आफ्नै सम्पर्क कार्यालयमा मुख्यमन्त्री शेरधन राई नपुगेको एक वर्ष बढी भयो । प्रदेशको स्थायी राजधानीको माग गर्दै धनकुटामा लामो समयसम्म आन्दोलन भएको थियो । उक्त आन्दोलनलाई मथ्थर पार्ने उदेश्यले प्रदेश सरकारले धनकुटामा स्थापना गरे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । कार्यालय उद्घाटन गर्न पुगेका मुख्यमन्त्री त्यसपछि त्यहाँ गएकै छैनन् । 

‘सम्पर्क कार्यालय छ तर, मुख्यमन्त्री नै सम्पर्कमा नआउनु भएको एक वर्ष भन्दा बढी भयो,’ उद्योगवाणिज्य महासंघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राइले भने, ‘कार्यालयको बोर्ड छ, त्यो भन्दा अरु केही काम भएको छैन । 

धनकुटालगाएतका पहाडी जिल्लाहरू जोडेर प्रशासनिक केन्द्र बनाउने उदेश्यले कार्यालय स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की बताउँछन् । ‘काम नै नभएको चाही होइन तर, सोचे जस्तो व्यवस्थापन गर्न ढिलो भएको हो,’ उनले भने, ‘हामीले क्याबिनेटदेखि अधिवेशनसम्म धनकुटामा नै गर्ने उदेश्यका साथ सम्पर्क कार्यालय खोलेका हौंं । त्यही अनुसार व्यवस्थापन गर्दै जान्छौं ।’ 

राणाकालदेखि प्रशासनिक अड्डाकारुपमा रहेको धनकुटामा पञ्चायतकालमा समेत पूञ्र्वाचल विकास क्षेत्रको प्रशासनिक केन्द्र थियो । प्रजातन्त्र स्थापनासंगै धनकुटाबाट प्रशासनिक अड्डाहरु तराई झर्न थाले । त्योसंगै धनकुटा बजार सुनसान बन्दै गयोे । 

‘सडकसंगै धनकुटाको व्यापार उकालो लाग्यो तर, सरकारी कार्यालय ओरालो झरे ।’ धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक किरण घिमिरे भन्छन्, ‘धनकुटाले प्रशासनिक अड्का रुपमा मात्र स्थापित गर्न सक्यो । प्रशासनिकसंगै व्यापारिक केन्द्रका रुपमा समेत विकास गर्न सकेको भए आज यस्तो अवस्था आउने थिएन् ।’


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x