कोशी

सुरक्षा वेसक्याम्प राखियो तर, गाउँमा त्रास कायमै

मिक्लाजुङ घटना : ‘मागेजति चन्दा नदिँदा शिक्षककाे हत्या’

लीलावल्लभ घिमिरे |
पुस ३, २०७७ शुक्रबार १४:५० बजे

विराटनगर : सुरक्षा वेस क्याम्प राखिए पनि मोरङको मिक्लाजुङ गाउँपालिका–१ वर्षेमा जनजीवन सामान्य बन्‍न सकेको छैन । १३ दिनदेखि बन्द सरस्वती आधारभूत विद्यालय कहिले खुल्ने कुनै टुङगो छैन । मंसिर २३ गते नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले वर्षेस्थित विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी  त्रासमा छन् । 

साताअघि मिक्लाजुङ–१ को सिरानेटारमा संयुक्त अप्रेसन  क्याम्प स्थापना गरिएको छ । तर सुरक्षा वेस क्याम्प पुग्न वर्षेबाट पैदल २ घण्टा भन्दा बढी हिड्नुपर्छ । यहाँ यातायातको पहुँच छैन् । यो गाउँ मिक्लाजुङ गाउँपालिका–१ को वडा कार्यालय आइतबारेबाट झण्डै २० किलोमिटर टाढा पर्छ ।


वर्षे गाउँमा झण्डै १२ घर परिवारको बसोबास छ । गाउँमा अझैं पनि त्रास कम भएको छैन । आसपासका टोलहरूमा पनि त्रास छ । गाउँलेहरू घाँस दाउरा, मेलापात, गोठाला र खेतेपातीमा जानसमेत डराइरहेका छन् । 

मृतक श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठ पनि अहिले गाउँमा गएर बस्न सक्ने अवस्था नरहेको बताउँछिन् । श्रेष्ठको श्रीमतीसहित छोरा छत्रबहादुर र छोरी पूजा अहिले मिक्लाजुङ– २ स्थित रचनामा काजकिरियामा छन् । 

‘हत्या भएको गाउँबाट वेस क्याम्प टाढै छ,’ मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी प्रसाद आचार्यले भने, ‘अब विस्तारै सामान्य हुँदैछ ।’ सरस्वती आधारभूत विद्यालयमा जम्मा २ जना शिक्षक थिए । प्रधानध्यापक श्रेष्ठको हत्यापछि एक जना शिक्षिका मात्र छिन् । ‘अब गापा अध्यक्ष आर्चायले भने, ‘अर्को शिक्षकको व्यावस्था गर्न लागेका छौं । त्यसपछि विद्यालय सञ्चालनमा आउँछ ।’ यो विद्यालयमा करिब २० जना विद्यार्थी छन् । 

द्वन्द्वकालमा पनि यो गाउँ तत्कालीन भूमिगत माओवादीको आधार इलाका थियो । अहिले आएर चन्द समूहले सेल्टरका रुपमा प्रयोग गर्दै आएको थियो । निकै अघिदेखि त्रासमा रहेको यो गाउँ श्रेष्ठको हत्यापछि झनै त्रासमा छ । 

एक वर्षअगाडि  देखिनै त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेको भन्दै सुरक्षा क्याम्प राख्न स्थानीय जनप्रतिनिधहरूले माग गर्दै आएका थिए । शिक्षक श्रेष्ठको हत्यालगत्तै त्यस क्षेत्रको शान्ति सुरक्षालाई हेर्न साताअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक मिलन थापा  र सशस्त्र प्रहरी प्रहरी निरीक्षक सुमन बुढाथोकीको नेतृत्वमा मिक्लाजुङ–१ को सिरानेटारमा संयुक्त अप्रेसन  क्याम्प स्थापना गरिएको छ ।

अहिले अस्थायीरुपमा सुरक्ष क्याम्प बसे पनि  पछि स्थायीरुपमा बेस क्याम्प राख्ने गरी प्रक्रियाअगाडि बढेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शन्तोष खडकाले बताए । सुरक्षा वेस क्याम्प खडा भएपछि चन्द समूहका गतिविधि भने सो क्षेत्रमा बन्द भएका छन् । 

चन्दा नदिंदा हत्या : अधिकारकर्मी
प्रधानाध्यापक श्रेष्ठको हत्या मागेजति चन्दा नदिएका कारण गरिएको अधिकारकर्मीहरूले निष्कर्ष निकालेका छन् । मोरङको मिक्लाजुङस्थित विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्याकोस्थलगत अध्ययनपछि अधिकारकर्मीहरूले चन्द समूहका कार्यकर्ताले मागे जति चन्दा नदिएका कारण विवत्स हत्या गरेको निष्कर्ष निकालेका हुन् । 

श्रेष्ठको हत्या प्रतिकारमा नभई निर्मम यातनापछि घाँटी रेटेर नियोजित रूपमा गरिएको उनीहरूको निष्कर्ष छ । मंसिर २३ गते बिहान घरबाट अपहरण गरी करीव १ किलोमिटर पर जङगलमा लगेर दुवै हातपछाडि बाँधी घाँटी रेटेर श्रेष्ठको हत्या गरिएको थियो । 

प्रदेश १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार तथा वातावरण मञ्च (फरेन), साझा सवालका लागि साझा मञ्च (कोकन), थर्ड एलायन्सका प्रतिनिधि र एड्भोकेसी फोरमले स्थलगत अध्ययन गरेका थिए ।

 चन्द समूहको मेची–कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै जिम्मा लिएको थियो । उनलाई सुराकी गरेको र आक्रमण उत्रिएपछि प्रतिरक्षाका लागि हत्या गरिएको विज्ञप्तिमा दावी गरिएको थियो । 

‘दुवै हात बाँधेर अपहरण गरिएका श्रेष्ठले प्रतिकार गर्ने अवस्थै थिएन, उनको प्रतिकारमा मृत्यु भएको पुष्टि हुँदैन,’ इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले भने, ‘निर्मम यातनापछि हत्या गरिएको पाइएको छ ।’ हत्याको प्रमुख कारण श्रेष्ठले गाउँमा लामो समयदेखि सुरक्षा कार्यालयको माग गर्नु र चन्द समूहका कार्यकर्ताले मागेजति चन्दा नदिनु पाइएको थापाले बताए ।
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x