मधेश

सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै ठोरीका स्थानीयद्वारा विरोध

माधुरी महतो |
कात्तिक २३, २०७७ आइतबार १३:० बजे

पर्सा : जिल्ला समन्वय समिति पर्साले ठोरी गाउँपालिका ३ मा पर्ने निर्माणधिन हुलाकी सडकको अनुगमन गरेको छ । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाइरहेका बेला समन्वय समितिले सडकको अनुगमन गरेको हो । 

अनुगमनपछि समन्वय समितिले स्थानीय र सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसँग पनि छलफल गरेको जनाएको छ । समन्वय समितिका उपसभापति ठाकुरप्रसाद न्यौपाने, समन्वय अधिकारी छविरमण भट्टराई, इन्जिनियर विजय गुप्तालगायत सहभागी टोलीले स्थानीयको असन्तुष्टिका विषयमासमेत छलफल गरेको जनाएको छ । दसैंको मौकामा ठेकेदार कम्पनीले कालोपर्दा गर्दा लापरबाही गरेको स्थानीयको गुनासो छ । 


कालोपत्रे गरेको केही दिनमै उप्कन थालेको, सडकमा पानी छिर्ने छिद्र बनेका गुनासो गरेको उपसभापति न्यौपानेले जानकारी दिए । सडक कालोपत्रे गर्दा गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीय पहिलेदेखि नै विरोधमा छन् । कालोपत्रे उप्किएको ठाउँमा ठेकेदारले टालटुल पार्न थालेको स्थानीयको आरोप छ । 

सो सडक निर्माणको ठेक्का बानियाँ निर्माण सेवाले पाएको थियो । कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले भने कम्पनीले सडकको इस्टिमेट अनुसार काम भएको दाबी गरे । 


Author

थप समाचार
x