मधेश

तीन महिनामा धनुषाबाट ११ हजारभन्दा बढी वैदेशिक रोजगारीमा

सुभाष कर्ण |
माघ १०, २०७९ मंगलबार २०:५२ बजे

जनकपुरधाम- कोभिड–१९ संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरूको संख्या धनुषामा ह्वातै बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्र ३ महिनामा ११ हजार ११९ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये ५४ जना महिला रहेका छन् । 
मंगलबार जनकपुरधाममा राष्ट्रिय महिला आयोगद्वारा आयोजित वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 


सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबैभन्दा बढी २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी रहेको छ ।

कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार आप्रवासी श्रोत केन्द्रबाट परामर्श लिएर ३ हजार १५४ र रिटर्नी स्वयंसेवकमार्फत १ हजार २६५ गरी कूल ४ हजार ४१९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

मृत्यु, उद्धार, एजेन्टबाट ठगिएर गएको, बिरामी तथा उपचारलगायत समस्या प्राप्त १२९ जना, सहजीकरण भइसकेको ४५ जना, शव व्यवस्थापनमा सहजीकरण ६ जना, गन्तव्य मुलुकबाट उद्धार १५ जना, जिल्ला प्रशासन कार्यालय मार्फत ४ जना र स्थानीय स्तरमै सहजीकरण २० जनालाई न्यायमा पहुँच उपलब्ध गराइएको छ भने २ करोड ६० लाख ७३ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको सामीको तथ्यांकमा भनिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढे पनि रेमिटेन्स प्रवाह भने गत साउन यता लगातार घटिरहेको छ । यो अवधिमा हुण्डी लगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरू सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिटेन्स प्रभावित भएको जानकारहरूको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x