मधेश

विद्यालयकाे जग्गामा पार्किङ स्थल नबनाउन अदालतकाे आदेश

सुभाष कर्ण |
बैशाख २५, २०८० सोमबार १९:४५ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयकाे जग्गामा पार्किङ स्थल निर्माण गर्ने कामलाई उच्च अदालत जनकपुरधामले​ राेक लगाएकाे छ ।

जनकपुरधाम-८ दशरथनगरस्थित राष्ट्रिय प्राथमिक विद्यालयकाे जग्गामा उपमहागरले निर्माण गर्न लागेकाे पार्किङ स्थलबारे परेकाे रिटमा उच्च अदालत जनकपुरधामले पार्किङ स्थलले विद्यालयकाे पठनपाठनमा असर पर्न सक्ने भएकाले निर्माण नगर्न भनी अन्तरिम आदेश जारी गरेको हाे ।


स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारी साधन पार्किङ स्थल बनाउँदा विद्यालयमा ध्वनी प्रदूषण बढाउने र विद्यार्थीहरूको पठनपाठनमा पनि ठूलो असर पर्ने सक्ने भएकाले निर्माण कार्य राेक्न अन्तरिम आदेशमा भनिएकाे छ ।

‘विद्यालय क्षेत्रमा नगर बसपार्क निर्माण गर्दा विद्यालय र विद्यालयको पठनपाठनमा पर्न सक्ने असर र त्यसको प्रभावको सम्बन्धमा वातावरणीय अध्ययन भएको र सो प्रभाव सम्बन्धमा अध्ययन गरी न्यूनीकरण तर्फ कारबाही नभएको अवस्थामा मटिहानी गुठी तहसिल तथा खर्च कार्यालय महोत्तरीको नाममा दर्ता रहेको कित्ता नम्बर ६४, ४३ को जग्गामा सञ्चालनमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय दशरथ नगरलाई असर पर्ने गरी कुनै पनि प्रकारको निर्माण गरी अतिक्रमण नगर्न विपक्षीको नाममा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिएको अदालतको आदेशमा भनिएको छ ।

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गरेका थिए ।

आधुनिक पार्किङ स्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहले विद्यालयकाे करिब १२ कट्ठा जग्गामा निर्माण भनी संयुक्त रूपमा शिलान्यास गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x