मधेश

जनमत पार्टीले तीनै तहका उम्मेदवारलाई बनायाे पदेन सदस्य

सुभाष कर्ण |
बैशाख २८, २०८० बिहीबार २०:३ बजे

जनकपुरधाम- जनमत पार्टीले तीनवटै तहका उम्मेदवारलाई पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिकाे पदेन सदस्य बनाएकाे छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्काे पदेन सदस्य बनाएकाे पार्टी अध्यक्ष डा. सिके राउतले जनाएका छन् । उनका अनुसार राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यका रूपमा सहभागी गराइएको हाे ।


त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचनमा जनमतबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भएकाहरूलाई सम्बन्धित प्रदेश समितिकाे पदेन सदस्यमा राखिएकाे अध्यक्ष राउतले बताए । कोशी प्रदेशको प्रदेश समितिमा २१ जना, मधेश प्रदेशको प्रदेश समितिमा १०१ जना समावेश गराएको जनमतले जनाएको छ ।

यस्तै बागमती प्रदेशको प्रदेश समितिमा आठ जना, गण्डकी प्रदेशको प्रदेश समितिमा चार जना, लुम्बिनी प्रदेशको प्रदेश समितिमा ३० जना र सुदूरपश्चिम प्रदेशको प्रदेश समितिमा पाँच जनालाई समावेश गराइएको छ ।

राष्ट्रिय परिषद् तथा प्रदेश समितिहरूमा अन्य सदस्यहरू मनोनीत गरी राष्ट्रिय परिषद् तथा प्रदेशका कार्यकारिणी समितिहरू गठन गरिने अध्यक्ष राउतले जानकारी दिए । ती समितिहरू गठन नभएसम्म जनमत पार्टीका अध्यक्ष राउतको संयोजकत्वमा राष्ट्रिय परिषद् तथा प्रदेश इन्चार्जहरूको संयोजकत्वमा प्रदेश समितिहरूको विस्तार तथा अधिवेशनको प्रक्रिया अगाडि बढाइने अध्यक्ष राउतले बताए ।

स्थानीय निर्वाचनमा पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षमा उठेका उम्मेदवारहरू स्वतः सम्बन्धित जिल्ला समन्वय समितिका सदस्य हुनेछन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x