मधेश

समानुपातिक सांसदहरुको गुनासो - संसदीय बजेटमा सरकारले विभेद गर्‍यो

सुभाष कर्ण |
साउन १७, २०८० बुधबार २१:४५ बजे

जनकपुरधाम - मधेश प्रदेशका पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिकका महिला र दलित सांसदहरुलाई क्लस्टरको हिसाबले संसदीय बजेटदेखि रोस्टममा बोल्नेसम्म हेप्ने गरिएको आरोप लगाएका छन् ।

बुधबार प्रदेश सभाको संयोजन र यूएनडीपीको सहयोगमा सिआईसीद्वारा जनकपुरधाममा आयोजित अनुभव आदानप्रदान कार्यक्रममा पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिक सांसदहरुलाई सम्बन्धित पार्टी र सरकारले महिला, दलित, मुस्लिमसहितका क्लस्टरको हिसाबले हेप्ने गरिएको भनी आरोप लगाए ।


कार्यक्रममा सहभागी सबै समानुपातिक सांसदहरुले सरकारले समानुपातिक सांसद भनेर प्रत्यक्षको एक तिहाई बराबर मात्र एक करोड बजेट संसदीय बजेट दिने गरेको गुनासो गरे । उनीहरूले प्रत्यक्षतर्फका सांसदहरु मात्र एउटा निर्वाचन क्षेत्रका मुस्किलले २०/२५ हजार भोट लिएर जितेका हुन्छ । तर आफूहरू ८ वटै जिल्लाबाट मत पाएर निर्वाचित भएपनि बजेटमा विभेद गर्ने गरिएको आरोप लगाए । 

सांसद ललिता दासले जनताले समानुपातिकतर्फ कुनैपनि पार्टीलाई पार्टी हेरेर होइन प्रस्तावित उम्मेदवारको क्लस्टर, जात र समुदाय हेरेर मत दिने गरेकाले आफू प्रत्यक्षभन्दा बढी मत लिएर निर्वाचित भएको दाबी गरिन् । उनले आफूहरू प्रदेशका आठ वटै जिल्लामा गएर आफ्ना जात, समुदाय र नातेदार कहाँ गएर मत माग्न दिनरात मेहनत गरेका कारण आफू निर्वाचित हुन सफल भएकाले ८ वटै जिल्लाबाट योजना माग्ने गरेकाले सरकारले कम्तीमा ८ करोडको संसदीय बजेटको व्यवस्था गर्नुपर्ने माग गरिन् । 

उनले जुन जनताले प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिएका छन, त्यही जनताले समानुपातिक उम्मेदवारलाई मत दिएको बताउँदै जनताले विभेद गरेको छैन भने सरकारले बजेटमा विभेद गर्नुको कारण के हो भन्दै प्रश्न गरिन् । दलित विकास समितिको जिम्मेवारी दलित सांसदहरुलाई दिनुपर्ने माग समेत उनले गरिन् । 

यस्तै भाग्यश्री चौधरीले महिला र पुरुष सामान रहेको भनिएपनि आफूहरु प्रत्यक्षभन्दा बढी मतले निर्वाचित भएपनि सरकारले समानुपातिक भनेर हेप्दै प्रत्यक्षको तुलनामा मात्र एक तिहाइ बजेट दिने गरेको आरोप लगाइन् । प्रत्यक्ष सरह नै तीन करोड संसदीय बजेट दिनुपर्ने उनले माग गरिन् ।

सांसद शहीदा खातुनले प्रत्यक्षतर्फका सांसदको घरमा २/४ जना कार्यकर्ता योजना माग्न आउने गरेको भएपनि आफू कहाँ ८ वटै जिल्लाका १५/२० जना बिहानदेखि रातिसम्म पार्टीका कार्यकर्ताहरु योजना माग्न आउने गरेको बताइन् ।  प्रदेशभरिकै जनताले माननीयज्यू तपाईको पार्टीलाई मत दिएका थियौं भन्दै कोही सडक त कोही मन्दिर कोही विद्यालय लगायतका योजना माग्ने गरेकाले एक करोडको बजेटमा काम गर्न नसक्दा दुख लाग्ने गरेका भन्दै  सरकारले ८ करोडसम्म बजेट दिनुपर्ने माग गरिन् । 

महिला भनेर हेपिन्छ
कार्यक्रममा उपस्थित पूर्व सांसद सरस्वती चौधरीले महिला सामानुपातिक सांसद त्यसमा पनि महिला भनेर प्रदेश सभा रोस्टममा बोल्ने अवसर नदिने गरेको कहिलेकाही प्रमुख सचेतकसँग बोल्न समय माग्दा महिलाले बोल्न सक्दैन भनी अवसर नदिई हेप्ने गरिएको अनुभव सुनाइन् । 

त्यस्तै वर्तमान सांसद ललिता दास वर रञ्जु खँगले प्रदेश सभामा पार्टी र सरकार समेतले दलित भनेर हेप्ने गरेको बताए । उनीहरुले समावेशी अन्तर्गत दलित कोटामा आफूहरुलाई सांसद त बनाइयो तर रोस्टममा बोल्नेदेखि बजेट र सरकारमा सहभागिताको सवालमा हेप्दै आएको बताए । उनीहरूले दलितहरुलाई सरकारमा सहभागी नगराइएकोमा दुखेसो पोखे । 

त्यस्तै सांसद शहीदा खातुनले संसदमा समानुपातिक र मुस्लिम सांसदहरुलाई रोस्टममा बोल्नेदेखि संसदीय बजेटमा पार्टीदेखि सरकारले हेप्ने गरेको अनुभव सुनाईन । सांसद भाग्यश्री चौधरीले पनि समानुपातिक सांसद भएकै कारण आफूले प्रदेश सभाको विशेष समयमा बोल्ने अवसर पाउन नसकेको दुखेसो सुनाइन । 

कार्यक्रममा सहभागी पूर्व सांसद एवं एमालेका प्रमुख सचेतक सुन्दर विश्वकर्माले समानुपातिक र महिला सांसद भनेर कहिलेपनि सांसद नहेपिएको दाबी गरे । उनले भने, 'संसदको विशेष समयमा सम्बन्धित विधेयक र विषयवस्तुमा बोल्न अध्ययन एवं अनुभवको आवश्यकता भएकाले समानुपातिक मात्रै होइन प्रत्यक्षतर्फका सांसदहरुले पनि अवसर पाउँदैनन् । उनीहरुले शून्य समयमा बोल्न पाउन सक्छ, तर आफै बोल्न नचाहने र बाहिर आएर बोल्न नदिएको भन्नु गलत हो ।' 

कार्यक्रमका अध्यक्षता गरेका प्रदेश सभामुख रामचन्द्र मण्डलले अनुभव आदानप्रदानले ज्ञान र सिकाइमा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे । रोस्टममा पार्टीले बोल्ने अवसर नदिने गरेको आरोपमा सभामुख मण्डलले पनि विशेष समयमा अवसर नपाउनेहरूका लागि शून्य समयको प्रावधान बनाइएकाले त्यसमा बोल्न आग्रह गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x