मधेश

जानकी मन्दिरमा राष्ट्रपति पौडेलको ४० मिनेट पूजापाठ

सुभाष कर्ण |
असोज ८, २०८० सोमबार १०:१३ बजे

तस्बिर : सुभाष कर्ण/इकागज

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवन गर्न जनकपुरधाम आएका राष्ट्रपति पौडेललाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले संयुक्त रुपमा करिब ९ बजेतिर पूजा अर्चना गराएको छ । 

उनीसँगै प्रथम महिला सविता पौडेल, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव लगायतका उचस्थ व्यक्तिहरूसमेत पूजामा सरिक भएको थियो । 


राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक जनकपुरधाम आएका राष्ट्रपति पौडेलले करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए । माता जानकीको पूजाआजासँगै उनले सीताराम संकिर्तन, १०८ शालिग्राम समेत अवलोकन गर्दै उनी सहभागी समेत भएका थिए ।

जानकी मन्दिरमा पूजा अर्चनापछि उनी प्रदेश प्रमुख हरिशंकर मिश्रसँग भेटघाट गर्नु भएको थियो । प्रदेश प्रमुख मिश्रसँग भेटघाटपछि मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई स्वागत गरेको थियो ।

आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम रहेको छ ।

२३ वर्षको लामो प्रतिक्षापछि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको राष्ट्रपति पौडेलले उदघाटन गरेपछि सोही भवनको सभाहलमा उहाँलाई नगरपालिकाले नागरिकता अभिनन्दन गर्नेछ । 

नागरिकता समस्या देशकैलागि ठूलो समस्या रहँदै आएकोमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि मधेशी जनतामाथि ठूलो गुण लगाएकाले उपमहानगरले नागरिक अभिनन्दन गर्न लागेको नगरप्रमुख मनोजकुमार साहले बताएका छन् ।

उपमहानगरले राष्ट्रपति पौडेललाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गरिने छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x