मधेश

आचार्य श्री निवासको रिहाइको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

सुभाष कर्ण |
असोज १७, २०८० बुधबार २०:५२ बजे

जनकपुरधाम - धर्मगुरु आचार्य श्री निवासलाई प्रहरीले पक्राउ गरेको विरोधमा जनकपुरधाममा बजरङ्ग दलका कार्यकर्तासहित स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । 

बुधबार दिउँसो जनकपुरधामको रामानन्द चोकमा बजरङ्ग दलको अगुवाइमा स्थानीय युवाहरूले आचार्य श्री निवासलाई बिनाशर्त रिहा गर्नुपर्ने माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन । उनीहरूले अभिव्यक्तिको भरमा पक्राउ गर्न पाइँदैन, गौ हत्या गर्नेलाई तत्काल कारबाही गर लगायतका नाराबाजी समेत गरेका थिए । 


यसैबीच आचार्य श्री निवासको बिनाशर्त रिहाइको माग गर्दै जनकपुरधामका साधुसन्तहरू समेतले आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामानन्दिय बैष्णव संघले एक पत्रकार सम्मेलन गरी बिहीबार दिउँसो तीन बजे विरोध र्‍याली र विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । 

साधु श्री निवासलाई यथाशीघ्र बिना सर्त रिहा गरिएन भने जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी संघका अध्यक्ष जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले दिएका छन् । दासले मातासरह पूज्य तथा जीवनको पालन पोषणमा पनि जन्मदिने आमा सरहनै अमृत दूध प्रदान गर्ने गौ माताको हत्याविरुद्व आफूहरु कुनै पनि हद सम्म जान सक्ने चेतावनी दिए । 

उनले भने, 'आचार्य श्रीनिवासले आमाको हत्या विरुद्ध खुकुरी मात्र देखाएको कसैको हत्या गरेको त छैन, अभिव्यक्तिकै भरमा पक्राउ गर्ने, तर गौ हत्या गर्नेलाई संरक्षण दिने सरकारको हिन्दु धर्मप्रति विभेदकारी नीति सह्य हुँदैन, हामी साधु समाज धर्म रक्षार्थ हेतु कडाभन्दा कडा आन्दोलसम्म जान सक्छौं ।' 

बिहीबार तीन बजे बाह्रबिघ्घा रंगभुमि मैदान अगाडिको तुलसी स्मारक मन्दिरबाट विरोध र्‍याली निकालिने उनले जानकारी दिए ।  सो विरोध जुलुसमा जनकपुरधामका विभिन्न मठ मन्दिरका साधुसन्त, महन्तहरुसहित हिन्दु युवा अभियानी, विभिन्न दलका नेता कार्यकर्ता र स्थानीय युवाहरूको सहभागिता रहने उनले जनाएका छन् । 

असोज १२ गते गौहत्याविरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध जुलुस कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मंगलबार साँझ सुनसरीबाट पक्राउ गरेको थियो । उनी पक्राउ भएदेखि सामाजिक सञ्जाल फेसबूकमा बिनाशर्त रिहाइको माग जोडतोडका साथ उठ्न थालेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x