मधेश

इजरायलसँगै ध्वस्त भयो गाउँको नाम ‘राेशन’ राख्ने आनन्दकाे सपना

छात्रवृत्तिको नाममा ठगी धन्दा गरेको परिवारको आरोप

सुभाष कर्ण |
असोज २२, २०८० सोमबार २०:५९ बजे

जनकपुरधाम- शनिबार बिहान इजरायलमाथि भएको आतंकवादी हमलामा परी नेपालका १० जना विद्यार्थी मारिए । जसमा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपहीका २५ वर्षीय आनन्द साह पनि परे । गाजापट्टीबाट हमास आतंकवादी समूहले इजरायलमाथि गरेको आक्रमणमा परी आनन्द साहको मृत्युले पूरै सपही गाउँ नै शोकाकुल भएको छ । 

कृषि शिक्षा अन्तर्गत छात्रवृत्तिमा तालिमका लागि इजरायल पुगेका आनन्दको मृत्युको खबरले उनका आमा, बुवा र बहिनीको अवस्था दुई दिनदेखि बेहाल छ । उनीहरू अचेत अवस्थामा छन् । गाउँकै नाम रोशन गर्ने सोच बनाएर विदेश गएका आफ्ना छोरा कसरी मर्यो भन्ने सोचेर क्षणमै बुवा सोमन साह र आमा शिकली देवी बेहोस हुने गरेका छन् । आनन्द साहले परिवारको दुःख कष्ट हर्ने बेलामा आफै आतंकवादीको आक्रमणमा मारिएपछि परिवारमा बज्रपात परेको छ । 


प्यालेष्टाइन विद्रोहीको आक्रमणमा मारिने आनन्द परिवारका एक्ला छोरा थिए । ७० वर्षकी हजुरआमा बसमतिया देवी पनि नाति मारिएको खबरले अचेत छिन् । तीन छोरी र एक छोरा पाएका बुबा साहको दुःखका दिन समाप्त हुने बेलामा छोराको निधनले साह परिवारमात्र होइन सिङ्गो गाउँ नै शोकमा डुबेको छ । 

सामान्य परिवारमा जन्मेका आनन्दले कक्षा ५ सम्म गाउँकै स्कुलमा पढेका थिए । सानो उमेरदेखि नै तीक्ष्ण बुद्धिका कारणले सुमनले मजदुरी गरेरपनि छोरालाई जनकपुरधामको बोर्डिङ स्कूल एन्जलस सेकेन्डरी बोर्डिङ स्कुलमा पढाए । बुवाको मेहनतलाई आनन्दले खेर जान दिएनन्। आफ्नो मेहनतले एसएलसी राम्रो अंक ल्याएर उत्तीर्ण भए । त्यसपछि जनकपुरधामकै मिट क्याम्पसबाट विज्ञानमा प्लस २ पास गरी पूर्ण छात्रवृत्तिमा बीएस्सी गरेका थिए । 

यसैबीचमा सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइयो । उनले इजरायलमा अध्ययन पूरा गर्न नपाउँदै हमासले गरेको आक्रमणमा परी ज्यान गुमाए । बुवा सोमनले छोराको सपना पूरा गर्न गाउँमै तीन लाख रुपैयाँ ऋण काढेर पठाएका थिए ।

दस वर्षसम्म खाडी मुलुकमा काम गरेर छोरालाई राम्रो शिक्षा दिन सफल भएका सोमन छोरा छात्रवृत्तिमा नाम निकालेर इजरायल पुग्दा निकै खुशी थिए । तर २६ दिनमै छोराको मृत्युको खबरले उनको परिवारमाथि बज्रपात परेको छ । आनन्दले गाउँमा नै आधुनिक कृषि फार्म स्थापना गरेर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि योगदान दिने योजना बनाएका बेलामा यो घटना भएको छ । 

बुबाले जानकी मेडिकल कलेज अगाडि जोडेको ५ कट्ठा जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पनि आनन्दले बनाएका थिए । त्यस भन्दा अगाडि उनले १ करोड बिरुवा रोप्ने अभियान चलाउने योजना बनाएका थिए । आनन्दको मृत्युको खबरले सपही गाउँ नै पीडामा परेको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बताए । 

आनन्दका बुवा सोमन साह रुदैं भन्छन्, 'सरकारले छात्रवृत्तिको नाममा ठगी गर्यो । छात्रवृत्तिमा तालिमका लागि सरकारले इजरायल पठाउने भनिएको थियो । तर त्यहाँ पुगेपछि क्याम्पसमा ५ हजार ८८ डलर थप बुझाए मात्रै तालिम गर्न दिने भनी तालिममा आफ्नो छोरालाई सहभागी नै गराइएन ।' परिवारलाई चिन्ता नहोस् सोचेर छोराले त्यही काम गरेर पैसाको जोहो गर्न थालेका थिए । आनन्दले त्यहीँ एक कृषक कहाँ निबुवा टिप्ने काम शुरु गरेका थिए । 

उनले भने, 'मैले धेरै पटक फोनमा छोरालाई घर फर्किन भनेको थिए, तर छोराको एउटै जवाफ थियो बुवा गाउँको नाम रोशन गर्नुछ । तपाईको सपना पूरा गर्नुछ आफ्नो अध्ययन पूरा गरी चाँडै फर्किनेछु ।' छोरासँग सधैं कुरा भएपनि घटनाको एक दिन पहिला बिहीबारदेखि कुरा नभएको उनले बताए । शुक्रबार बिहान आतंककारी हमलामा छोरा मारिएको खबर पाए । 

आनन्दको घरमा हजुरआमा, आमा, बुवा र ३ बहिनीहरू छन् । बुढेसकालका सहारा रहेका छोरा गुएमाएपछि गाउँमा लिइएको ऋण कसरी चुकाउने र बहिनीहरूको पढाईलेखाई र बिहेवारी कसरी गर्ने भन्ने चिन्ताले सोमनलाई सताउन थालेको छ । उनले भने, 'बुढेसकालको परिवारको एकमात्र छोरा आनन्द थियो । अब हाम्रो परिवारको गुजारा कसरी चल्छ, हामीमाथि त बज्रपात नै परेको छ ।' 

प्रदेश सरकारलाई चासो छैन 
यता इजरायलमा ज्यान गुमाएका आनन्दको शव ल्याउन र उनको परिवारको राहतबारे मधेस प्रदेश सरकार गम्भीर देखिएको छैन । कार्यवाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले आनन्दको शव ल्याउन प्रदेश सरकार मातहतको कुरा नभएको बताए । उनले भने, 'शव ल्याउने काम संघीय सरकारले गर्ने हो । परराष्ट्र मन्त्रालयमा कुरा गरेको छु । हेरौं के गर्छ ।'
 
आनन्दको परिवारलाई राहत दिनेबारे पनि प्रदेश सरकारले निर्णय नगरेको कार्यवाहक मुख्यमन्त्री यादवले बताए ।  मुख्यमन्त्री सरोजकुमार यादव भारतको हैदराबाद छन् ।  'उहाँ आएपछि राहतबारे छलफल गर्नेछौं हाल त्यस्तो केही योजना प्रदेश सरकारको छैन', यादवले भने । 

आनन्दसहित १० जना नेपालीले ज्यान गुमाएका छन् ।  ज्यान जानुमा प्रमुख दोषी नेपाल सरकार र सुदूरपश्चिम विश्वविद्यालय रहेको स्थानीयहरुको भनाई छ । स्थानीय मोहन पजियारले  सबैभन्दा बढी दोषी विश्वविद्यालय भएको बताए । उनले भने, 'छात्रवृत्ति भनिएको कोटामा ५ हजार डलर भन्दा बढी रकम त्यहाँ पुगेपछि माग गरियो, जसको परिणाम पढ्न गएका विद्यार्थीले पेट पाल्न मजदुरी गर्ने अवस्थामा पुगे ।  छानबिन नगरी विद्यार्थी पठाउनु गलत हो । यो त छात्रवृत्तिको नाममा ठगी हो । सरकार पनि उत्तिकै दोषी हो ।' इजरायलमा आतंकको अवस्था रहे त्यस्ता ठाउँमा विद्यार्थीलाई पठाउनै नहुने उनको तर्क । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x