मधेश

'यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन'

इकागज |
पुस ६, २०८० शुक्रबार ९:१३ बजे

वीरगञ्ज, पर्सा- बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेश प्रदेशका किसानलाई यस वर्ष गहुँ खेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला-जिल्लामा पठाइएको र युरिया  मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्ला-जिल्लालाई पठाइसकिएको छ । 


'गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो', उनले भने, 'हामीले प्राप्त भएको डिएपी मल जिल्ला-जिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।' गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ । 'करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ', प्रमुख पाण्डेयले भने 'युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।' त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या हुँदैन, उनको भनाइ छ । तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डिएपी १९ हजार दुई सय १३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।

पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०/८१ मा प्राप्त मलमध्ये हालसम्म डिएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन र पोटास एक हजार पाँच सय ९९ मेट्रिक टन मल जिल्ला-जिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताए । हाल युरिया एक सय ५१ मेट्रिक टन, डिएपी तीन हजार आठ सय ६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उनको कथन छ ।

अबको एक महिनाभित्रमा डिएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिए । रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँट भएअनुसार जिल्ला-जिल्लामा मल पठाउँदै आएको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा आएको युरिया ५५ हजार दुई सय ९७ मेट्रिक टन, डिएपी ३० हजार सात सय ६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार चार सय ८८ मेट्रिक टन, डिएपी २६ हजार ६ सय ६ र पोटास एक हजार सात सय ३१ मेट्रिक टन रासायनिक मल जिल्ला-जिल्लामा वितरण गरेको छ । 

सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ । 

मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताए ।

सो कार्यालयमार्फत मधेश प्रदेशको आठ वटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लम्जुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या हुने गरेको किसानको गुनासो छ । रासस


Author

थप समाचार
x